April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

बदला भावले महेन्द्रको हत्या, लुम्बिनीका पाँच युवा पक्राउ

भैरहवा– रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४, मनौराका ३५ वर्षीया महेन्द्र यादवको आफ्नै साथीहरुले पूरानो रिसइबी साँधेर बदला लिन हत्या गरेको पाइएको छ । प्रहरी अनुसन्धानले उक्त कुरा पुष्टि गरेको हो । तर, महेन्द्रप्रति आरोपीहरुको कस्तो रिसईबी र बदला थियो भन्नेबारे प्रहरीले भने केही खुलाएको छैन ।

Advertisement

घटनामा संलग्न रहेको आरोपमा पाँच जना युवालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबै महेन्द्रको घर नजिकैका हुन् । रुपन्देही प्रहरीका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–४, मनौराका २२ वर्षीया बलजित पासी, सोही ठाउँका ३० वर्षीया दुर्गेश पासवान, २४ वर्षीया राकेश यादव, २० वर्षीया संजय पासी र २३ वर्षीया सर्वजीत विश्वकर्मा छन् ।

Advertisement

गत जेठ २३ गते बिहान महेन्द्रको आफ्नै वडाको मनौरा बन्दरगढ भन्ने स्थानमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीका अनुसार महेन्द्रको टाउको, छाती, घाँटी र गुप्तांगमा धारिलो हतियार प्रहार गरी रगताम्य अवस्थामा शव फेला परेको थियो ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय लुम्बिनीको टोली घटनास्थलमा खटिएको थियो । अनुसन्धानका क्रममा आरोपितहरुले पुरानो रिसईबी साँधेर बदला लिनका लागि योजनाबद्ध रुपले महेन्द्रको हत्या गरेको पुष्टि भएको चन्दले बताए ।

‘गाउँमा हत्या गरी खेतमा लगि फालेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, प्रहरी निरीक्षक चन्दले भने, ‘पुरानो रिसईबी पनि रहेको पाइयो । यसबारे जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान जारी छ ।’ महेन्द्रको जेठ २२ गते राती साढे १२ बजे हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

पाँचै जनालाई प्रहरीले जेठ २५ गते नियन्त्रणमा लिएको हो । उनीहरुविरुद्ध अदालतबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान जारी छ । यस्तै, प्रहरीले हत्यामा प्रयोग भएको धारिलो हतियार (फलामको दाउ) १ थान, पानी तान्ने चापाकलको ह्याण्डर (हत्ता) १ थान र हरियो बाँसको घारा १ थान समेत बरामद गरेको छ ।