महामारीलाई चुनौति दिँदै ‘हिरो बन्न खोज्दा प्रहरी फन्दामा’


लुम्बिनी– एक दिन अघि उनले कोरोनाका नाममा नगरपालिकाले गरेको अन्यायकोविरुद्ध नगर घेराउ गर्न आह्वान गरेका थिए । लुम्बिनीका अर्जुन कुर्मीले व्यवसायी, किसान र युवालाई सामाजिक संजाल फेसबुक मार्फत् आह्वान गर्दै शनिबार १० बजे नगर घेराउ गर्न आउन आग्रह गरे ।
उनको आग्रहअनुसार केही युवा जम्मा भए, शनिबार लुम्बिनीस्थित खुनगाई चोकमा टायर बालेर विरोध गरे । रुपन्देहीमा निषेधाज्ञा छ । कोरोना महामारी तीव्र बन्दै गएपछि जिल्लामा बैशाख १६ यता स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
तर, राजनीतिक संरक्षण पाएका कुर्मीसहितका युवा समूहले भने शनिबार त्यसलाई चुनौती दिँदै टायरै बालेर विरोधमा उत्रिए । जसरी कुर्मीले नगरपालिकाको विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेका थिए, ठीक त्यसकोविपरीत उनीसहितको समूह प्रहरी–प्रशासन विरुद्ध नाराबाजीमा उत्रियो । युवाहरुले अपाच्य शब्द बोल्दै नारा लगाए ।
कोरोना महामारीले संक्रमित कयौ नागरिकको ज्यान गएको छ । सहर–गाउँसम्म संक्रमण फैलिएको छ । यस्तो अवस्थामा कुर्मीसहितको समूह भने कानूनको उपहास गर्दै विरोधमा उत्रिएको हो । आफू ‘हाइलाइट’ हुन जस्तोसुकै हर्कत गर्ने कुर्मी केही समय पहिला लुम्बिनी सांस्कृति नगरपालिका प्रमुख मनमोहन चौधरीको सहयोगी भई काम पनि गरेका थिए ।
तीव्र आकांक्षा राख्ने उनी चौधरीको साथ छाडेर एकाएक एमाले निकट बने । उनले अहिले नगरपालिकाको मेयरको उम्मेदवार आफू भएको जनाउँदै आएका छन् । केही समय अघि कुर्मीले भनेका थिए, ‘मलाई एमालेले मेयरको टिकट दिन्छ, अबको नगर प्रमुख म नै हुन्छु ।’
यसरी चुनाव आउनभन्दा अघि नै मेयरको उम्मेदवार हुँ भनेर घोषणा गर्दै हिँडेका थिए । कुर्मीले यतिसम्मकी लुम्बिनी खुनगाईदेखि पर्सा चोकसम्म करिब ५ किलोमिटर क्षेत्रमा रहेका पोल–पोलमा ‘कामरेड अर्जुन कुर्मी’ लेखिएको आफ्नो फोटासहित पोस्टर टाँगेका छन् ।
एमालेबाट मेयरको उम्मेदवार आफू नै हुने भन्दै स्वघोषणा गरिरहेका कुर्मीले स्थानीयको मन जित्ने दावी गर्दै पोलपोलमा पोस्टर टाँगेका हुन् । यसैको शिलशिलामा उनले महामारीको बेवास्ता गर्दै टायर बालेरै सडकमा उत्रिए । स्थानीयको सहानुभूति जित्न जुन हर्कत गरेका थिए, त्यो पक्कै पनि स्थानीय र समग्र लुम्बिनीबासीको हीतविपरीत थियो ।
यो कुरा उनले कसरी बुझे, उनी आफै जानून । तर कानूनी राज्यमा कुर्मीले गरेको हर्कत अपाच्य छ । उनको चौतर्फी आलोचना भइरहेको छ । यदि कसैले निषेधाज्ञाको अवज्ञा गरेमा संक्रामक ऐन २०२० अनुसार कारबाही हुने व्यवस्था छ ।
ऐनको कुर्मीले खिल्ली उडाएका छन् । रुपन्देही प्रहरी प्रमुख मनोज केसीले सडकमा टायर बालेर विरोधमा उत्रिएका कुर्मीलाई पक्राउ गरिएको बताए । विरोधमा उत्रिएका अर्का एक जना पनि पक्राउ गरेका छन् । अन्यको खोजी कार्य जारी रहेको केसीले बताए ।
‘हामीले पक्राउ परेकाहरुलाई संक्रामक ऐनअनुसार कारबाही गर्छौं, घटनामा संलग्न अन्यको खोजी जारी छ’, एसपी केसीले भने । खुनगाईमा युवाहरुले कोरोना महामारी केही होइन्, प्रहरी प्रसाशन मुर्दाबाद, निषेधाज्ञा मान्दैनौ भन्दै नाराबाजी गरेका थिए ।
उक्त समूहले बजार खुलाउने भन्दै स्थानीयहरुलाई बजार खोल्न सार्वजनिक रुपमा आग्रह समेत गरेका थिए । कुर्मीले आफूले माक्स समेत लगाएका थिएनन् । हातमा माक्स समाएर उनी विरोधमा उत्रिएका थिए । उनका समूहमा रहेका कयौ युवा माक्सविहीन थिए । यसले महामारी थप फैलने भन्दै त्यहाँका स्थानीय चिन्तित बनेका छन् ।
प्रतिकृया दिनुहोस्