April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

गस्तीको प्रहरीलाई घूस दिन खोजेपछि…

भैरहवा- तीन दिन अघि आइतबार वडा प्रहरी कार्यालयको टोली गस्तीमा थियो । गस्तीकै क्रममा प्रहरी रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२, डाँडागाउँमा पुग्यो । त्यहाँ एकजना शंकास्पद व्यक्ति भेटिए । त्यतिन्जेल ११ बजिसकेको थियो ।

Advertisement

प्रहरीले सोधखोज गर्यो । चेकजाँच गर्दा ती शंकास्पद व्यक्तिका साथमा प्रहरीले ३ बाक्सा मदिराजन्य पदार्थ फेला पार्यो । प्रहरीले मदिरा फेला पारेपछि ती व्यक्ति आत्तिए । झट्टपट्ट खल्तीबाट पैसा निकाले र प्रहरीलाई अफर गरे ।

Advertisement

ती व्यक्तिले प्रहरीलाई २ हजार ५ सय रुपैयाँ दिन खोजे । प्रहरीले अस्वीकार गर्यो । उनलाई नियन्त्रणमा लियो । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापा भन्छन्, ‘निषेधाज्ञा उल्घंन गर्ने, शंकास्पद गतिविधि गर्ने र मदिरा पनि भेटिएपछि प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आवश्यक कारबाही अघि बढेको छ ।’

थापाका अनुसार पक्राउ पर्नेमा पाल्पाको मिस्ती गाउँपालिका–२, थामडाँडा घर भइ हाल सिद्धार्थनगर–१२, डाँडागाउँमा बस्ने ३७ वर्षीय लोकबहादुर बयम्बु मगर छन् । पक्राउ परेका मगरलाई प्रहरीले सोधखोज गर्दा सार्वजनिक स्थानमा प्रहरीसँग अनावश्यक वादविवाद र गालीगलौजको वातावरण सिर्जना गरेकाले नियन्त्रणमा लिएको प्रहरी दावी छ ।

प्रहरी बर्दीलाई आर्थिकसँग जोडेर घूस दिन खोज्ने मगरलाई आवश्यक अनुसन्धान पश्चात अभद्र व्यवहार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट ७ दिनको म्याद थप गरिएको छ । उनीमाथि अहिले आवश्यक अनुसन्धान भइरहेको डीएसपी थापाले जनाए ।