April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

राष्ट्रिय सभा उपनिर्वाचनमा तीन स्थानीय तहका प्रमुख अनुपस्थित

दाङ– लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन सकिएको छ । अब केही समयमै मतगणना सुरु हुनेछ । तर आज भएको मतदानमा भने ३ जना मतदाता अनुपस्थित भएका छन् ।

Advertisement

निर्वाचन कार्यालयका अनुसार राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित डा.धवलशमशेर राणा, गुल्मी दरबार गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष अशोककुमार थापा र जसपा उपेन्द्र पक्षका बाँके नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमत शाह मतदानमा उपस्थित भएनन् ।

Advertisement

राणाले अहिलेको अवस्थामा उपनिर्वाचनमा जान आवश्यक नभएको भन्दै बहिष्कार गरेका हुन् । अन्य दुई जना भने कोरोना संक्रमित भई उपचाररत रहेकोले मतदान गर्न नआएको बताइएको छ ।

निर्वाचन कार्यालयले जनाएअनुसार लुम्बिनी प्रदेश प्रदेश सभाका ८३ मध्ये सबैजना मतदानमा सहभागी भई मत खसालेका छन् । यस्तै, स्थानीय तहका प्रमुख, उपप्रमुख गरी २ १७ जना रहेकामा २ सय १४ जनाले मतदान गरेका छन् ।

उपनिर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् भने सत्तारुढ नेकपा एमालेका चन्द्रबहादुर खड्का उम्मेदवार छन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ । यस्तै, एमालेको माधवकुमार पक्षको पनि समर्थन रहेको बताइएको छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेबाट मतदान शुरू भएको थियो । मतदानको लागि निर्धारित ३ बजेसम्मको समय सीमाभित्रै सबैले मतदान गरिसकेका छन् । मतदानस्थलमा संक्रमित २४ जना स्थानीय तहका प्रमुख/उपप्रमुख र ३ प्रदेश सांसदका लागि अलग्गै मतदानस्थल व्यवस्थापन गरिएको थियो ।

मतदान सकिएकाले अब केही समयमा मतगणना सुरु हुनेछ । निर्वाचन कार्यालयकाअनुसार आज नै नतिजा घोषणा हुने छ । राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ छ ।