March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनः दल फेरुवा उम्मेदवारमा कुन बलियो ?

भैरहवा- लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका लागि आज उपनिर्वाचन सुरु भएको छ । मतदानका लागि अधिकांश प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख दाङ पुगिसकेका छन् । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।

Advertisement

उपनिर्वाचनमा संयुक्त गठबन्धन काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र जनमोर्चाकातर्फबाट नेपाली कांग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । यस्तै, नेकपा एमालेकातर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार छन् ।

Advertisement

तर , यी दुवैजना पाहुना (दल फेरुवा) उम्मेदवार हुन् । राजनीतिक जीवन नै व्यतित गरेको पार्टी परित्याग गरि अवसरका लागि दौडिएका दुई उम्मेदवारमा कसले बाजी मार्ला ? यसका लागि सोमबार साँझसम्म कुर्नपर्छ । कतिपयले अंक गणित पनि गरिसकेका छन्, कुन बलियो छ भनेर ।

यद्यपि राजनीतिक हिसावले दुबै जना पाहुन उम्मेदवार र स्वार्थका लागि पार्टी परिवर्तन गरेकाले जसले जिते पनि खासै फरक नपर्ने तल्लो तहका कार्यकर्ता बताउँछन् । एमालेका एक कार्यकर्ता भन्छन्, ‘खड्का स्वार्थका लागि एमाले प्रवेश गरेका हुन्, उनलाई उपनिर्वाचनमा उम्मेदवार बनाउनु हुँदैनथ्यो । आफ्नो जीवन नै एमालेमा व्यतित गरेका नेताहरुलाई पाखा लगाएर उनलाई उम्मेदवार बनाउनु न्यायोचित छैन ।’

यसअघि राष्ट्रिय सभा सदस्य रहेका अर्घाखाँची मालारानी–५ का खड्का नेकपा (माओवादी केन्द्र) छाडेर एमालेमा प्रवेश गरेका थिए । त्यसपछि माओवादीले कारबाही गरेपछि उनी पदमुक्त भए । सोही पदमा आज उपनिर्वाचन हुन लागेको हो ।

यस्तै, गठबन्धनका उम्मेदवार कपिलवस्तु निवासी पाण्डे यसअघि लुम्बिनी प्रदेशसभा सदस्य थिए । गत निर्वाचनमा उनले एमालेका तर्फबाट उम्मेदवार बनी निर्वाचित जितेका थिए । प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नुअघि उनी कांग्रेस पार्टीमा आवद्ध थिए । प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर काँग्रेस प्रवेश गरी उनी अहिले उम्मेदवार बनेका हुन् ।

यसैले गर्दा पाण्डेप्रति पनि काँग्रेस कार्यकर्ता रुष्ट छन् । स्वार्थका लागि दल अदलबदल गर्ने पाण्डे भोलिका दिन अन्य पार्टीमा जानसक्ने भन्दै कार्यकर्ताले उनको आलोचना गरिरहेका छन् । दुबैजना स्वार्थका लागि दौडिने उम्मेदवार भएकाले उनीहरुले जितेनजितेको खासै फरक नपर्ने एमाले, काँग्रेस कार्यकर्तामा चर्चा छ । तर, नेतृत्व तह भने आफ्ना उम्मेदवार जिताउन लागिपरेका छन् ।

लुम्बिनीमा ८३ जना प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्षसहित २१७ जना गरि जम्मा ३ सय जना मतदाता छन् । निर्वाचनको अघिल्लो दिन अर्थात् हिजो मात्रै निर्वाचन आयोगले मतदाता नामावलीमा चारजनाको नाम थपेको छ । जनता समाजवादी पार्टीका चारजना प्रदेशसभा सदस्यले निर्वाचनमा मतदान गर्न पाउने छन् ।

यसअघि मतदाता नामावलीबाटै नाम हटाइएका प्रदेश सरकारमा मन्त्रीसमेत रहेका चार जना प्रदेश सभा सदस्यले मतदान गर्न पाउने भएका हुन् । सर्वोच्च अदालतले जेठ ३ गते अल्पकालीन आदेश जारी गरेबमोजिम संविधानको धारा १२८ को उपधारा ४ को व्यवस्था अनुसार पूरक मतदाता नामावलीका रुपमा प्रदेश निर्वाचन कार्यालयले उनीहरूलाई मतदाताका रूपमा समावेश गरिएको उल्लेख गरेको छ ।

उपेन्द्र यादव पक्षीय जनता समाजवादी पार्टीले केपी शर्मा ओली पक्षीय नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी भएको भन्दै मन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेको सांसद पद नै निलम्बन गरेको थियो । तर सर्वोच्चले उनीहरुको सांसद पद थमौती गरेको थियो ।

सर्वोच्चले पद थमौती गरे पनि यसअघि निर्वाचन आयोगले प्रकाशित गरेको नामावलीबाट उनीहरूको नाम हटाइएको थियो । तर मतदान गर्न पाउने व्यवस्था गरिएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । आयोगको यो निर्णयसँगै उनीहरूले आज हुने उपनिर्वाचनमा मतदान गर्नेछन् ।

राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभा तर्फ ७९ जना मतदाता कायम भएकोमा निर्वाचन आयोगको जेठ १६ गते बसेको बैठकले चारजना प्रदेशसभा सदस्यको नाम पुरक मतदाता नामावलीमा समावेश गरेको हो । प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेशले दुवै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिसकेको छ । पाण्डेलाई रुख र खड्कालाई सूर्य चिन्ह प्रदान गरिएको हो ।

लुम्बिनीमा दुई उम्मेदवारबीचमा कडा प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ । जनता समाजजादी र स्वतन्त्रबाट स्थानीय तहको निर्वाचन जितेकाहरु नै निर्वाचन जिताउने आधार भएको ठान्दै दुवै पक्ष सोही मत तान्न कस्सिएका छन् ।
लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली कांग्रेस ६४, नेकपा माओवादी (केन्द्र) ३९, जसपा १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ३ जना रहेको दाबी गरिएको छ ।

लुम्बिनी प्रदेशसभा सदस्यको कुल संख्या ८७ हो । तर, अहिले कायम रहेको संख्या ८३ छ । एमाले गठबन्धनमा ४२ जना सांसद छन् । विपक्षी गठबन्धनका ४१ छन् । नेकपा एमालेका ३८, नेपाली कांग्रेसका १९, माओवादी केन्द्र १९ (विमला वली सहित), जसपा महन्थ पक्ष ४, जसपा उपेन्द्र पक्ष २ र राष्ट्रिय जनमोर्चाका १ सांसद लुम्बिनी प्रदेशसभामा छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ छ । प्रदेशका ८३ प्रदेशसभा सदस्यको ३ हजार ९८४ र स्थानीय तहका २ सय १७ जनप्रतिनिधिको ३ हजार ९०६ गरी जम्मा ७ हजार ६९८ मतभार छ । राष्ट्रियसभामा दुईजनामात्र उम्मेदवार भएकाले कम्तीमा ३ हजार ८५० मत ल्याउने उम्मेदवार निर्वाचित हुने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेशसभामा विपक्षी गठबन्धन मजबुत देखिएको छ भने बागमती प्रदेशकै समीकरणलाई आधार मान्ने स्थानीय तहतर्फ पनि विपक्षी गठबन्धनले नै बाजी मार्ने देखिन्छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक फखरुद्दीन खानकाअनुसार प्रदेशसभामा गठबन्धनका ४१ सांसद रहेको र स्थानीय तहका पनि ११८ मत रहेकाले गठबन्धनकै उम्मेदवारको जित सुनिश्चित छ । काँग्रेसका उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा (उप्रेन्द्र–बाबुराम), एमालेको माधवकुमार पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रदेश कार्यालय सचिव सुदर्शन बरालले गठबन्धनमा स्पष्ट बहुमत रहेको दावी गर्दै पाण्डेले सजिलै चुनाव जित्ने विश्वास व्यक्त गरे । उनका अनुसार प्रदेशमा काँग्रेसको मतभार ९१२, माओवादी केन्द्रको ९१२, जसपा उपेन्द्र यादव समूहको ९६ र राष्ट्रिय जनमोर्चाका ४८ गरी विपक्षी गठबन्धनको कुल मतभार १ हजार ९६८ हुन्छ । त्यस्तै स्थानीय तहमा पनि गठबन्धनको १ हजार ९९८ गरी जम्मा ३ हजार ९८४ मतभार देखिन्छ । यो मतभार जितका लागि सहज रहेको बरालले दावी गरे ।

एमालेका प्रदेशसभा सदस्य ३८ र स्थानीय तहका ९४ प्रतिनिधि छन् । यसबाहेक स्वतन्त्र र राप्रपा गरी स्थानीय तहका ६ जनाले एमालेलाई सघाउने आँकलन गरिएको छ । बाँकी जनप्रतिनिधि भने विपक्षी गठबन्धनतिर छन् । जसपा उपेन्द्र यादव समूहका प्रदेश सरकारमा मन्त्री बनेका ४ जनाले एमाले उम्मेदवारलाई सघाउनेछन् । एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले साना दललाई आफूतिर तान्ने प्रयास भइरहेको बताए । उनले आफूहरुले चुनाव जित्ने दावी गरे । उपनिर्वाचनको मतपरिणाम आजै सार्वजनिक गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।