January 23, 2025, Thursday
२०८१ माघ १०

आज गणतन्त्र दिवस, समृद्धि र स्थायित्वको कामना व्यक्त

भैरहवा– आज गणतन्त्र दिवस । नेपालमा राजसंस्था अन्त्य भई संघीय गणतन्त्रमा प्रवेश गरेको दिनको सम्झनामा शनिबार गणतन्त्र दिवस मनाइँदै छ । नेपालमा गणतन्त्र स्थापना भएको १३ वर्ष पूरा भएको छ । विसं २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएको थियो ।

दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

Advertisement

दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारलाई सुनिश्चित गरिसकेका सन्दर्भमा तिनको प्रभावकारी कार्यान्वयन गर्दै विश्वव्यापी महामारी कोभिड–१९ को सङ्क्रमण पुनः तीव्र बनेकाले यसलाई नियन्त्रण गर्न नेपाल सरकारले विभिन्न सहर एवं जिल्लामा जारी गरेको निषेधाज्ञाका नियमको पालना गर्दै जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गरेकी छन् ।

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत, जनताको सर्वोच्चता र न्यायिक मूल्यमान्यताका आधारमा समस्या छिट्टै समाधान हुने कामना गरेका छन् ।

राजनीतिक समस्याबिच पनि सरकार, राजनीतिक दल र सबै पक्षलाई कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न तथा गम्भीर संक्रमितको प्रभावकारी उपचारमा एकजुट भएर लाग्न उपराष्ट्रपतिले अपील गरेका छन् ।

यसैगरि सभामुख अग्निप्रसाद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले संविधानअनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरि कार्यान्वयन भए मात्रै यसको औचित्य स्थापित हुने उल्लेख गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीका कारण देशले दुष्परिणाम भोग्नु परेको बताएका छन् ।

कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने भन्दै उनले हाम्रा राष्ट्रपति र प्रधानमन्त्रीको व्यवहार तदनुकूल नहुँदा देशले दुष्परिणाम भोग्नु परेको टिप्प्णी गरेका हुन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले भनेका छन्, ‘कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ । लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्दछ र बन्नुपर्दछ । देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं । अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न म समस्त नेपालीमा अपील गर्दछु ।’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गणतन्त्रले नागरिक सम्प्रभूता स्थापित गरेको बताएका छन् । उनले गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतः नागरिकमा स्थापित गरेको बताए । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै मुख्मन्त्री पोखरेलले गणतन्त्र केवल शासन पद्दति मात्र नभएर नागरिकको जीवन पद्दति भएको उल्लेख गरेका छन् । वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भइ जनताका छोराछोरीहरुले शासन व्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण लामो संघर्ष र बलिदानले सम्भव भएको उनको भनाइ छ ।