April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

भेरीका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा

बाँके- बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको छ । बिहीबार राति कोभिड–१९ संक्रमितको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमा छिरेर डाक्टर र नर्सलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

आरोपीहरु बिरुद्ध ‘ज्यान मार्ने उद्योग’ र ‘आपराधिक उपद्रव’ गरेको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी रवीन्द्र धानुकले रातोपाटीलाई बताए । उनले भने– ‘आक्रमणको नेतृत्व मानबहादुर रावतले गरेको देखिन्छ, बाँके प्रहरीले त्यसबारे थप अनुसन्धान गरिरहेको छ ।’ प्रहरीले उनीहरुको पुरानो आपराधिक तथ्यांक पनि खोजिरहेको छ ।

Advertisement

मृतक ५२ वर्षका पुरुष हुन् । मृतकका भाइ मानबहादुर नेतृत्वको समूह आक्रमणमा उत्रिएपछि चिकित्सक र नर्सले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए । आक्रमणमा संलग्नहरु दाङका तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका हुन् ।

घटना छानविनका लागी स्थानिय प्रशासनले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समिती गठन गरेको छ । समितिमा ७ जना सदस्य छन् । समितीले ३ दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन दिनेगरी काम शुरु गरिसकेको छ ।

स्वास्थ्यकर्मी काममा फर्किए

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले सुरक्षाको ‘ग्यारेन्टी’ गरेपछि चिकित्सक र नर्सहरु काममा फर्किएका छन् । सुरक्षाका लागी प्रहरी निरीक्षकको कमाण्डमा अस्पतालमा २५ जनाको टिम परिचालन गरिएको डीआईजी धानुकले बताए ।

‘चिकित्सक र नर्सलाई सुरक्षाको प्रत्याभूति गराएका छौँ,’ डीआईजी धानुकले भने, ‘उहाँहरुमाथि हुने सवै थ्रेट व्यवस्थापन गर्छौँ ।’ आक्रमण गर्नेलाई कडा कारवाही गर्ने आश्वासनपछि स्वास्थ्यकर्मीले काम शुरु गरेका छन् ।