October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

लुम्बिनी प्रदेशमा दुई लाख कोरोना परीक्षण किट वितरण गरिने

बुटवल- किट अभावमा कोरोना परीक्षण प्रभावित भएपछि लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले दुई लाख थान किट वितरण गर्ने भएको छ । यसअघि निर्देशनालयले उपलब्ध १८ हजार थान भन्दा बढी किट प्रदेशका १२ जिल्लालाई वितरण गरेको थियो ।

Advertisement

प्रदेश नै कोरोना हटस्पट भएकाले किट अभाव हुँदा कोरोना परीक्षण सुस्त भइरहेको थियो । विज्ञले समुदायमा परीक्षण गर्न दबाब दिए पनि सम्भव भएको थिएन । सुरुमा प्रदेशका बाँके, दाङ र रुपन्देही संक्रमणको केन्द्र बनेका थिए ।

Advertisement

पछिल्लो समय संक्रमण पहाडी जिल्लाका बस्तीमासमेत फैलिरहेको छ । तर, किट अभावमा कोरोना परीक्षण सुस्त छ । परीक्षणमा एकरुपता नहुँदा संक्रमितको संख्या दैनकि घटबढ भइरहेको छ । धेरै जिल्लामा एक महिनादेखि निषेधाज्ञा लागू भइरहेको छ । ती जिल्लामा संक्रमण दरमा उल्लेख्य कमी आएको छैन ।

त्यसैले समुदायमा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा विज्ञले जोड दिइरहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयमा यसअघि आएको १८ हजार ५ सय किट प्रत्येक जिल्लामा पठाइएको कोरोना फोकल पर्सन कौशल भण्डारीले बताए ।

‘दुई लाख थान नयाँ किट उपलब्ध भएको छ’, उनले भने, ‘उक्त किट वितरण गरेपछि प्रदेशभर परीक्षणको दायरा बढ्छ ।’ प्रदेशमा बिहीबार संकलित २ हजार ४ सय ९९ नमुनामध्ये २ हजार ३ सय ६७ जनाको आरटी पीसीआर परिक्षण भएको निर्देशनालयले जनाएको छ । प्रदेशमा २३.४० प्रतिशत संक्रमण दर छ । अहिलेसम्म कुल ३ लाख १६ हजार १ सय ७० नमुना परीक्षण गरिएका छन् । त्यसबाट ७३ हजार ९ सय ९१ संक्रमित भेटिएका छन् ।