August 11, 2022, Thursday
२६ श्रावण २०७९, बिहीबार

बिरामीको मृत्युपछि आफन्तद्वारा भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात, चौतर्फी आलोचना

बाँके- कोरोना भाइरस संक्रमितको मृत्युपछि भेरी अस्पताल, नेपालगञ्जमा आफन्तहरुले चिकित्सकलाई दुर्व्यवहार गर्दै हातपात गरेका छन् । घटनापछि भेरी अस्पतालमा तनाव सिर्जना भएको छ । उपचारका क्रममा दाङका डिल्ली रावतको मृत्यु पछि आक्रोशित आफन्तले चिकित्सकमाथि हातपात गरेको अस्पताल प्रशासनले दावी गरेको छ ।

Advertisement

जेठ ४ गते भेरीमा भर्ना भएका रावतको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गरेका थिए । उपचारकै क्रममा उनको मृत्यु भयो । मृतकका छोरा र भाइहरुले भेन्टिलेटरमा राखेपछि मृत्यु भएको भन्दै डा.चन्द्रप्रकाश साहु र नर्सहरु अस्मिनी गुरुङ र सदिक्षा गैरैमाथि हातपात गरेको अस्पताल प्रशासनले जनाएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन तेज ओलीले बिरामीको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा किन हामीलाई नसोधी भेन्टिलेटरमा राखेको भन्दै डाक्टर र नर्समाथि दुर्व्यवहार गरेको बताए ।

डाक्टर र नर्सलाई दुर्व्यवहार गर्ने मृतकका एक छोरा र दुई भाइलाई प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज डिल्ली खड्काले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

मृतकका छोरा र दुई भाइले डिउटीमा रहेका डाक्टर साहु र नर्सद्वयलाई हातपातको प्रयास गरेपछि उनीहरुको भागाभाग भएको थियो । त्यसक्रममा दुई जना नर्स झ्यालबाट तल हामफालेको अस्पतालले बताएका छन् ।

घटनालगत्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, एसपी ओमबहादुर रानालगायतको टोली अस्पतालमा पुगेका थिए । अस्पतालमा कार्यरत नर्सहरुले सुरक्षाको ग्यारेन्टी र दुर्व्यवहार गर्नेलाई कारबाही नभएसम्म काममा नफर्किने चेतावनी दिएका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले दुव्र्यवहार गर्नेलाई कडा भन्दा कडा कारबाही हुनु पर्ने बताए । संकटको बेला रातदिन नभनी संक्रमितको उपचार खटिने स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि हातपातले उनीहरुको मनोबल कमजोर हुने भन्दै हातपात गर्नेहरुको आलोचना भइरहेको छ ।

देशभरका चिकित्सक, स्वास्थ्यकर्मी, नागरिक समाज, राजनीतिक दल, सर्वसाधरण लगायतले सामाजिक संजालमा हातपात गर्नेको कडा आलोचना गरिरहेका छन् । उनीहरुले तत्काल दोषीलाई कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।