January 23, 2025, Thursday
२०८१ माघ १०

रूपन्देहीमा जेठ २० गतेसम्म निषेधाज्ञा थप

भैरहवा– रूपन्देहीमा जारी निषेधाज्ञा थप गरिएको छ । अब जेठ २० गतेसम्म निषेधाज्ञा जारी रहने छ । कोरोना प्रभाव नघटेको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।

जिल्लामा बैशाख १६ गते यता निषेधाज्ञा छ । निषेधाज्ञाको अवधि दोस्रोपल्ट थप गरिएको हो । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बुधबार बसेको बैठकले जेठ २० सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको बताए । । यसअघि प्रशासनले जेठ १३ गतेसम्मलाई निषेधाज्ञा थप गरेको थियो ।

Advertisement

निषेधाज्ञामा अवधिमा शान्ति सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, ब्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी गर्ने ढुवानीका साधनजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय भएको पौडेलले बताए ।

प्रशासनले निषेधाज्ञा अवधिमा भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरेको छ । सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठि, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ्ग मल, ब्यूटिपार्लर र स्विमिङ्ग पुल, स्पा, संग्रहालाय, पुस्तकालाय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाइएको छ ।

पराम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न तथा होटल, रेष्टुरेन्ट सञ्चालन गर्न रोक लगाइएको छ ।

अति आवश्यकीय सामाग्रीहरु खाद्यान्न, ग्याँस, तरकारी, फलफूल र दुधलगायत दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिका लागि उद्योग बाणिज्य संघ र ब्यपार संगठनले ब्यवस्था मिलाउने र यस्ता वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कारवाही गरिने प्रशासनले जनाएको छ ।