April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

राष्ट्रिय सभा उपनिर्वाचनमा चार प्रदेश सभा सदस्य मतदानबाट बञ्चित

बुटवल– लुम्बिनी प्रदेशका चार प्रदेश सभा सदस्यहरुले राष्ट्रिसभा उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका छन् । सर्वोच्च अदालतले उनीहरुमाथिको कारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरे पनि लुम्बिनीमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका हुन् ।

Advertisement

अदालतबाट प्रदेश सभा सदस्य थमौती भएका सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीले मतदान गर्न पाउने छैनन् । सर्वोच्चले उनीहरु माथिको कारबाही यथास्थितिमा राख्न आदेश दिए पनि निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा उनीहरुको नाम समावेश छैन ।

Advertisement

जसले गर्दा यही जेठ १७ गते लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा चार प्रदेश सभा सदस्य मतदानबाट बञ्चित भएका हुन् । उनीहरु चारैजना मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको मन्त्रिमण्डलमा मन्त्री बनेपछि जसपा उपेन्द्र समूहले कारबाहीको पत्र पठाएसँगै प्रदेश सभाले उनीहरु पदमुक्त भएको जनाएको थियो ।

उनीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए र सर्वोच्चले अन्तरिम आदेश दिँदै उनीहरुको पद थमौती गरेको थियो । आयोगको जारी गरेको अन्तिम मतदाता नामावलीको सूचिमा प्रदेशसभा सदस्यबाट ७९ जनाको मात्रै नाममावली छ ।

सर्वोच्चले ३ जेठमा उनीहरूलाई कारबाही गर्ने निर्णय १६ जेठसम्मका लागि कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो । सर्वोच्च अदालतको आदेशपछि उनीहरू अहिले प्रदेश सभा सदस्यको हैसियतमा छन् । चारैजना मन्त्रीको हैसियतमा काम गर्दै आएका छन् । तर, प्रदेश सभाले त्यसअघि नै ८७ प्रदेश सभा सदस्य हुनुपर्नेमा जसपाले कारबाही गरेका चार जना, माओवादीले कारबाही गरेका दुई जना, र एमालेबाट राजीनामा गरेका दुई जना गरी आठ जना प्रदेश सभा सदस्यको पद रिक्त भएको पत्र निर्वाचन आयोगलाई पठाएको थियो ।

प्रदेशसभा सचिवालयले पठाएको पत्रका आधारमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेशका मुख्य निर्वाचन अधिकृत मिनराज भट्टराईले नेपाल बताए । उनले भने, ‘प्रदेश सभा सदस्यहरुमध्ये ७९ जनाले मात्रै मतदान गर्नुहुनेछ ।’

प्रदेश सभा सदस्यको मतभार ४८ का दरले ३७९२ हुनेछ । स्थानीय तहका प्रमुख उपप्रमुख २१७ जनाले मतदान गर्ने र उनीहरुको मतभार १८ का दरले ३९०६ रहने छ । उपनिर्वाचनका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको छ । बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । जसमा तीनवटा मतदान केन्द्र छन् । एउटा केन्द्र कोभिड संक्रमितका लागि मतदान गर्ने गरी छुट्याइएको छ ।

उपनिर्वाचनमा नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र गठबन्धनबाट दीर्घनारायण पाण्डे उमेदवार छन् । गठवन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टीको (उपेन्द्र समूह) को समर्थन छ । विपक्षी गठवन्धनका उम्मेदवार पाण्डेय गत निर्वाचनमा एमालेको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

मुख्यमन्त्री शंकर पोखरेल दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै उनले प्रदेश सभाबाट राजीनामा दिइ नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनको राजीनामापछि राष्ट्रिय सभाको उम्मेदवार बनाउनेबारे गठबन्धनले सामूहिक निर्णय गरेको थियो । राष्ट्रिय सभा सदस्यम चन्द्रबहादुर खड्का माओवादी परित्याग गरी एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा उक्त पद रिक्त भएको थियो ।