January 25, 2025, Saturday
२०८१ माघ १३

परामर्शबिना औषधि सेवनले जोखिम

परासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का ४५ वर्षीय पुरुषलाई १५ दिन ज्वरो आउने र टाउको दुख्ने समस्या भयो । सुरुमा उनले सिटामोल खाए । ज्वरो नरोकिएपछि नजिकैको फार्मेसी पसलमा गए । फार्मेसी पसलेले सामान्य जाँच गरेर टाइफाइड भएको र औषधि खाएपछि निको हुने भन्दै एन्टिबायोटिक दिएर पठायो । तर ज्वरो रोकिएन् ।

बरु खोकी लाग्ने र श्वास प्रश्वासमा समस्या बढ्यो । श्वासप्रस्वासमा अप्ठ्यारो भएपछि बल्ल उनलाई आफन्तले पृथ्वीचन्द्र जिल्ला अस्पतालमा उपचारका लागि पुर्याए । अस्पताल पुगेपछि एक्सरे गर्दा कडा खालको निमोनिया देखियो । चिकित्सकले किन ढिलो गरेर अस्पताल ल्याएको भनेर सोधखोज गर्दा घरमा नै फार्मेसीबाट औषधि किनेर खाएको आफन्तले बताए ।

Advertisement

उनीहरुले सुरुवाति चरणमा नै टाइफाइडको कडा प्रकृतिको औषधि सेवन गरेको पाइयो । श्वासप्रश्वासमा समस्या भएको र निमोनियाले गालेपछि ४० वर्षीय ती पुरुषको गत सोमबार निधन भयो । चिकित्सकले ढिलो गरी अस्पताल आउँदा बचाउन नसकिएको भनेपछि आफन्तहरु पछुताउनुबाहके अन्य कुनै विकल्प थिएन ।

‘सुरुमा ज्वरो आएपछि फार्मेसीमा गई औषधि ल्याएर खुवाएको, तीन दिनसम्म सुई पनि लगाएको हो । तर पनि ज्वरो निको भएन्’, रामग्राम–१० का निलु गुप्ताले भने, ‘यसअघि पनि ज्वरो आउने गर्दथ्यो । सामान्य ज्वरो होला भनेको तर यसपटक कोरोनाले भेटेछ । आफ्नै लापरवाहीले गर्दा आफन्त गुमायौं । सुरुमा नै अस्पताल ल्याएको भए ज्यान बँच्ने रहेछ ।’

यहाँको पृथ्वीचन्द्र जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डा.राजकुमार गुप्ताले कोरोना संक्रमितले आफ्नै स्वास्थ्यमा लापरवाही गर्दा मृत्यु हुने गरेको जनाए ।

‘निमोनियाले च्यापेर श्वासप्रश्वासमा गम्भिर समस्या भएपछि मात्र अस्पताल आउने कारण मृत्यु हुने गरेको छ । समयमा नै चिकित्सककोमा आएर परामर्श अनुसार औषधि सेवन गर्ने संक्रमित घरमा नै बसे पनि निको भएका छन्’, उनले भने, ‘परासी क्षेत्रमा कोरोना संक्रमितले सामान्य ज्वरोका बिरामीले जस्तो फार्मेसीमा गएर औषधि सेवन गर्ने र कडा खालको टाइफाइडको औषधि सेवन गरेको भेटिएको छ । जसको कारण अन्तिम अवस्थामा अस्पताल आएर पनि ज्यान बचाउन नसक्ने अवस्था छ ।’

ज्वरो, खोकी र टाउको दुखेमा तुरुन्त अस्पताल आएर अक्सिजन लेबल जाँच गर्ने र चिकित्सकको सल्लाहा अनुसार औषधि सेवन गर्न सबैमा आग्रह उनले गरेका छन् ।

जिल्लामा कोरोना संक्रमणको जाँचका लागि पीसीआर मेसिन नहुँदा समस्या छ । लक्षण देखिएका मानिसको पीसीआर परीक्षण रिपोर्ट नै तीनचार दिनमा आउने भएकाले लक्षण देखिएका बिरामीको अवस्था कमजोर हुने गरेको छ ।