March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको निधन

कपिलवस्तु- गोली प्रहारबाट गम्भीर घाइते माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ ।

Advertisement

पाण्डे र एक भारतीय नागरिकमाथि गत बुधबार राति तीन जनाको समूहले तौलिहवा–जितपुर सडकखण्डको सडवामा गोली प्रहार गरेका थिए । पेट र कम्मरमा २ वटा गोली लागेका पाण्डेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा केही दिन उपचार गरिएको थियो ।

Advertisement

तर, अवस्था गम्भीर भएपछि सोमबार राति ८ बजे हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो । हेलिकप्टरमा काठमाडौं पुर्याएको एक घण्टामा नै सोमबार राति पाण्डेको ज्यान गएको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

पाखुरामा एउटा गोली लागेका भारतीय नागरिकको अवस्था भने सामान्य छ । उनी उपचारपछि घर फर्केका छन् । पाण्डे र ती भारतीय नागरिकमाथि गोली प्रहार गरेको आरोपमा कपिलवस्तु प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली छन् ।

अनुसन्धानका क्रममा पक्राउ परेका अभियुक्तहरुले व्यक्तिगत रिसिइबीका कारण पाण्डेमाथि गोली चलाएको बयान दिएको डीएसपी भण्डारीले बताए । अदालतबाट म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।