October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

संक्रमित घरमै बस्दा खाली भए आइसोलेसन वार्ड

रुकुम पूर्व– रुकुम पूर्वका तीन स्थानीय तहले अक्सिजनसहितका आइसोलेसन वार्ड तयार पारेका छन् । कोरोना संक्रमितको उपचार गर्न भन्दै भूमे गाउँपालिकामा ५० बेड, सिस्ने गाउँपालिकामा २४ बेड र पुथाउत्तरगंगा गाउँपालिकामा १५ बेड तयार गरिएको छ ।

आइसोलेसनमा नबसेर संक्रमितहरु भने घरमै छन् । भूमे गाउँपालिकाले २ नम्बर वडाको काँक्रीमा अस्थायी अस्पताल बनाएको छ । अस्पतालमा २१ वटा सिलिन्डर अक्सिजन पनि तयार छन् । तर त्यहाँ विरामी भर्ना छैनन् । डाक्टर र अरु स्वास्थ्यकर्मी विरामी कुरेर बसेका छन् । कोही आउँदैनन् ।

सिस्नेले शनिबार २ जना संक्रमित भर्ना गरेको छ । पुथाउत्तरगंगाले सभाहलमा बनाएको आइसोलेसनमा १२ सिलिन्डर र ६ वटा अक्सिजन कन्सन्टेटर छन् । सबै बेडमा त्यसलाई सेटिङ समेत गरेर राखिएको छ ।

सिस्नेमा ठूला ३२ र साना १० गरी ४२ अक्सिजन छन् । अरु उपकरणको व्यवस्थापन पनि सिस्नेको आइसोलेसनमा छन् । यहाँ पनि लामो समयपछि २ विरामी भर्ना गरिए पनि लामो समय यो आइसोलेसनमा खाली थियो ।

पुथाउत्तरगंगामा १० संक्रमित छन् । भूमेमा १४ जना संक्रमित छन् । सिस्नेमा ९६ संक्रमित छन् । समध्येका ६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । पुथाउत्तरगंगा र भूमेको आइसोलेसन एमबीबीएस डाक्टर छन् भने सिस्नेका आइसोलेसनका विरामीलाई जिल्ला अस्पतालका डाक्टरले उपचार गरिरहेका छन् ।

पुथाउत्तरगंगाका स्वास्थ्य संयोजक समिर गिरीले संक्रमितमा लक्षण नदेखिएकाले सबैलाई होम आइसोलेसनमा बस्न भनिएको बताए । यस अघि एक जना आइसोलेसनमा उपचार गरी डिस्चार्ज भइसकेको गिरीले बताए ।

भूमोका स्वास्थ्य सहसंयोजक सञ्जिव खड्काले सरकारको प्रोटोकल अनुसार नै संक्रमितहरु अस्पताल नआएको बताए । लक्षण नदेखिएकालाई अस्पताल भर्ना नगर्नु भन्ने प्रोटोकल भएको भन्दै उनले हालसम्म त्यस्तो अवस्थाका संक्रमित नभएको बताए ।

अक्सिजन दिनुपर्ने, औषधी चलाउनुपर्ने जस्ता विरामीलाई अस्पतालमा ल्याउने र त्यसको तयारीको सबै काम भइसकेको खड्काले बताए । जिल्ला अस्पतालमा पनि ६ जनालाई मात्रै राख्न सकिने गरी बेड बनाइएको छ ।

६ जना भन्दा बढी संक्रमितको उपचार गर्नु परेपछि अस्पतालले पाल टाँगेर गरिरहेको छ । जिल्ला अस्पतालका डा.पूर्णबहादुर पुनले भौतिक संरचना अभावमा अस्पतालमा ६ जना भन्दा बढी कोरोना संक्रमित बेड बनाउन नसकिएको बताए ।