April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

जनप्रतिनिधिले उपलब्ध गराए कोरोना परीक्षण सामाग्री

रोल्पा– जनप्रतिनिधि र नेताहरुले रोल्पा अस्पताललाई टेस्टिङ किट र अक्सिजन सिलिन्डर जुटाइदिएका छन् । कोरोना संक्रमण बृद्धि भइरहे पनि परीक्षण सामग्री अभाव भएको खबरपछि जनप्रतिनिधि र नेताहरुले उक्त सामाग्री जुटाइदिएका हुन् ।

Advertisement

रोल्पामा संक्रमण रोक्न पर्याप्त मात्रामा परीक्षण सामग्री अभावमा चुनौति थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार परीक्षण किट अभाव भएको थाहा पाएपछि पूर्व मन्त्री एवं कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगरले व्यक्तिगत खर्चमा १ सय थान एन्टिजेन किट खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेका छन् ।

Advertisement

‘विरामीलाई कोराना लागे/नलागेको तत्काल जानकारी पाएर उपचार गर्न सहज होस् भन्ने उद्देश्यले अस्पताललाई एन्टिजेन किट दिने निर्णय गरेको हुँ’, विज्ञप्ति जारी गर्दै उनले भनेका छन् । स्थानीय तहलाई गम्भीर भएर योजना बनाई संक्रमण रोक्न र विरामीलाई चाँडै सन्चो बनाउन सहयोगी योजना बनाउन उनले आग्रह गरे ।

यस्तै, राजधानीमा बस्दै आएकी पूर्वमन्त्री एवं सांसद जयपुरी घर्तीमगरले आफ्नो पहलमा ५ सय थान एन्टिजेन किट र भरिएका २५ वटा अक्सिजन सिलिन्डर जुटाएर पठाएकी छन् । ‘संक्रमण बृद्धि भइरहेको र परीक्षण सामग्री पनि अभाव भएको थाहा पाएपछि ती सामग्री जुटाएर रोल्पा अस्पताललाई पठाइदिएको सांसद जयपुरीले बताइन्् ।

उनका अनुसार दुर्गममा संक्रमण रोक्न र तत्काल परीक्षण गरी संक्रमण फैलन नदिन राज्यले मूल योजना बनाउनु आवश्यक छ । उनको पहलमा अघिल्लो वर्ष व्यवस्थित आइसोलेसन बनाउन करिब ७० वटा बेड प्राप्त भएको रोल्पा अस्पतालका प्रमुख डा.प्रकाशबहादुर बुढाले बताए ।

जिल्ला स्वास्थ्य प्रमुख नोखराज पोखरेलले अभाव भएको खबर सुनेपछि जिल्लाका प्रतिनिधिहरुले पनि चासो र सहयोग गर्न खोज्नु राम्रो भएको बताए । उनका अनुसार पूर्व मन्त्री एवं सांसद वर्षमान पुनले ५० थान अक्सिजन सिलिन्डर जिल्लामा पठाएका थिए ।