न्यून–चापीय क्षेत्र शक्तिशाली चक्रवातमा परिणत हुँदै, सतर्क रहन आग्रह
भैरहवा– पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्र आजबाट चक्रवातमा परिणत हुने र यसको असर पर्ने सम्भावना रहेको छ । चक्रवातका कारण हिमपात, वर्षा तथा हावाहुरीसमेत आउने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।
“पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्र सोमबार (जेठ १० गते) चक्रवातमा परिणत भई मंगलबारसम्ममा अतिधेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिन्छ । उक्त चक्रवातको केही असर नेपालको भू–भागमा समेत पर्ने सम्भावना छ,” मौसमविद् वरुण पौडेल भन्छन्, “सो प्रणालीका कारण मंगलबार अपरान्हपछि देशका धेरै स्थानमा सामान्यदेखी पूर्ण बदली भई वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ । तसर्थ उच्च हिमाली भूभागमा हावाहुरीसमेत आउनसक्ने सम्भावना रहेकाले मंगलबारदेखि केही दिनसम्मका लागि पर्वतारोहिहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध छ ।”
देशका धेरै स्थानमा बुधबारबाट केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा र बिहीबार कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
उच्च हिमाली भू–भागमा हिमपात र वर्षाको सम्भावना रहेकाले पर्वतारोहिहरूलाई सतर्क रहन मौसमविद् पौडेल आग्रह गर्छन ।
“यो सिजनमा मेघगर्जन/चट्याङ/हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,” विभागले भनेको छ ।
नेपालको पूर्वी क्षेत्रमा यसको असर बढी पर्ने मौसमविद् वरुण पौडेल बताउँछन् । “यो चक्रवातको असर नेपालको पूर्वी क्षेत्रमा बढी पर्ने देखिन्छ । यद्यपि यसको असर मध्ये क्षेत्र र पश्चिममा पनि पर्नेछ,” मौसमविद् पौडेल भन्छन्, “यसबाट सचेत रहन र विभागको सूचना अनुसार सतर्क रहन हाम्रो आग्रह छ ।”
प्रतिकृया दिनुहोस्