April 23, 2025, Wednesday
२०८२ बैशाख १०

कोरोना उपचारमा नमूना बन्दै भीम अस्पताल

भीम अस्पताल परिसरमा लीलाराम–कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले निर्माण गरेको नयाँ भवनको कक्षमा उपचाररत कोरोना संक्रमित विरामी । तस्बिरः पब्लिक कुरा

भैरहवा- नेपालमा कोरोना भाइरसको पहिलो लहर भित्रिएपछि सबै क्षेत्रका संघसंस्था थला परे । संक्रमण मन्द हुँदै गएको बेलामा पनि कुनै क्षेत्रले अपेक्षित गति लिएका थिएनन् । अहिले फेरि कोरोना भाइरसको दोस्रो लहरको भयावह अवस्था छ ।

यस बीचमा रुपन्देहीको भैरहवामा रहेको सरकारी भीम अस्पतालले भने अनपेक्षित सुधार गरेको छ । भीम अस्पताल कोरोना बिशेष अस्पताल हो । तर, जनशक्ति र पूर्वाधार अभावमा पहिलो लहरमा उपचार गर्न आएका बिरामीले निकै कष्ट व्यहोर्नु पर्याे । एक वर्षको अन्तरालमा आकाश पातालको अन्तर भएको छ ।

Advertisement

लिफ्टसहितको नयाँ भवन बनेको छ । त्यसमा राखिएका वेड, आईसीयू, एचडीयूमा आवश्यक पर्ने उपकरण तथा भेन्टिलेटर सबै नयाँ छन् । यो परिवर्तन लीलाराम–कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले गर्दा सम्भव भएको हो ।

‘हामीले सेवाको भावले भीम अस्पतालमा एक तले भवन बनाउने सोँचमा थियौँ । काम गर्दै जाँदा कोडिभ नेपालमा भित्रियो । आईसीयू वेड पनि आवश्यक पर्ने अस्पताल प्रशासनले जनाएपछि दुई तले भवन बनाएका हौँ’, लीलाराम–कुन्तीदेवी न्यौपाने प्रतिष्ठानका महासचिव विष्णुप्रसाद न्यौपानेले भने ।

प्रतिष्ठानले वि.सं. २०७६ मंसिर ५ गते अस्पताल प्रशासनसँग भवन बनाउन सम्झौता गरेको थियो । लगत्तै भोलीपल्ट शिलन्यास गरियो । काम निरन्तर चलिरहेको थियो । चार महिनापछि चैतमा भएको लकडाउन केही समय रोकियो । १७ महिनामा सम्झौता अनुसारको सबै काम सम्पन्न भएको छ ।

नयाँ भवन बन्नु अघि यस अस्पतालमा मानिसहरु उपचार गर्न बाध्य नभइ आउँदैनथे । अहिले पूर्वाधारसँगै उपचार पद्दतिमा पनि सुधार भएको बिरामीका आफन्तले बताए ।

‘मैले बुवालाई लिएर आएको आज ११ दिन भयो । आउने दिन बिरामीको चाप थियो, बुवाको भुइँमा राखेर उपचार गर्नुपर्याे । अर्को दिनदेखि एसीसहितको आइसोलेशन कक्षमा उपचार भैरहेको छ’, गैडहवा गाउँपालिकाका प्रभु कहाँरले भने । नयाँ भवन बनेपछि उपचारदेखि व्यवस्थापकीय पक्षहरु पनि सुधार भएको उनको अनुभव छ ।

अक्सिजन पाइपलाइनसहितका वेड तथा नयाँ भेन्टिलेटर थपिँदा धेरै बिरामीको उपचार सम्भव भएको चिकित्सकहरुले बताए । पुरानो भवनमा दुईवटा सानो कोठा मात्रै आकस्मिक कक्षका लागि थिए । अहिले २१ वेडको आकस्मिक कक्ष तयार छ ।

‘यदि नयाँ भवन तयार नभएको भए अहिले धेरै बिरामीको ज्यान जोखिममा हुने थियो’, भीम अस्पतालका कोरोना फोकल पर्सन डा.आरिफ हुसेनले भने । नयाँ भवनमा नविनतम् प्रविधिसहितका उपकरण जडानले धेरै बिरामीको उपचार सम्भव भएको हुसेनले जनाए ।

लीलाराम–कुन्तीदेवी प्रतिष्ठानले अस्पताल र उपकरण जडानमा अहिलेसम्म तीन करोड ६५ लाख बढी खर्च गरेको छ । अस्पताललाई आवश्यक पर्ने थप सहयोग गर्दै जाने प्रतिष्ठानले जनाएको छ ।

भीम अस्पताल ५० शय्याको हो । अहिले ७२ जना कोभिडका बिरामीले उपचार गराइरहेका छन् । अक्सिजन सहज उपलब्ध भए र जनशक्ति थपिए थप शय्याबाट उपचार बढाउन सक्ने अस्पताल प्रशासनले जनाएको छ ।