रूपन्देहीमा बढ्दै कोरोना जित्नेहरू


भैरहवा– रुपन्देहीमा कोरोना भाइरस संक्रमितको दर घट्दै गएको छ भने कोरोना जित्नेहरु बढ्दै गएका छन् । जिल्लामा पछिल्लोे २४ घण्टामा ९ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ३ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएकामा यो करिब ३९ प्रतिशत हो भने गतहप्ताको तुलनामा निकै कम हो ।
पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न अस्पतालहरुमा उपचाररत ४ सय ९७ जना संक्रमित निको भएर घर फर्किएका छन् । थप ५ संक्रमितको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ८६ पुगेको छ ।
बिहीबार एक हजार १८५ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २ सय ९४ जनामा संक्रमण पुष्टि भएको थियो । ४ जनाको मृत्यु भएको थियो । बुधबार एक हजार ९ जनाको परीक्षण गर्दा तीन सय ९ जनामा संक्रमण पुष्टि भएको थियो भने ९ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार पछिल्ला दिनमा संक्रमितको संख्या घट्टै गएको छ । स्वास्थ्य कार्यालयका प्रमुख डा।राजेन्द्र गिरी भन्छन्, ‘अघिल्लो हप्तासम्म संक्रमितको दैनिक बढ्दो थियो तर अहिले केही मात्रामा भए पनि कमी हुँदै गएको छ । यो निकै राम्रो सन्देश हो ।’
स्वास्थ्यका मापदण्ड र निषेधाज्ञा पालना गर्दै जाने हो भने संक्रमण पनि न्यू हुने उनको भनाई छ । ‘हामीले लापरबाही गर्दा घरपरिवार, समाज र सिंगो राष्ट्रलाई संक्रमणमुक्त गर्न कठिन हुन्छ । त्यसैले जनस्वास्थ्यका मापदण्ड पालना गरी घरमै बस्नु पर्छ । सबैले हातेमालो गरेमा महामारीलाई जित्न सकिन्छ’, उनले भने ।
पछिल्लो २४ घण्टामा जिल्लामा सबैभन्दा बढी बुटवल उपमहानगरमा संक्रमित थपिएका छन् । बुटवलमा आज एक सय १२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, तिलोत्तमामा ७९, सिद्धार्थनगर नगरपालिकामा ३९, देवदह नगरपालिकामा १९, सैनामैना नगरपालिकामा ६२ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार कञ्चन गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १२/१२, सियारी गाउँपालिकामा ११ जना, रोहिणीमा ६, सम्मरीमाईमा ५, शुद्धोधनमा ४, गैडहवा, मायादेवी र कोटहीमाई गाउँपालिकामा १/१ जना नयाँ संक्रमित थपिएका छन् ।
महामारी सुरु भएयता रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ६८१ पुगेको छ । यीमध्ये १८ हजार ७३५ जना संक्रमण मुक्त एका छन् । कार्यालयका अनुसार जिल्लामा ५ हजार ५ सय ६० जना संक्रिय संक्रमितहरु छन् ।
प्रतिकृया दिनुहोस्