माओवादी नेता पाण्डेलाई गोली हानेको आरोपमा दुई पक्राउ


कपिलवस्तु– नेकपा माओवादी केन्द्र कपिलवस्तुका नेता दीपक पाण्डेसहित तीन जनालाई गोली हानी हत्या प्रयास गरेको आरोपमा कपिलवस्तु प्रहरीले दुई जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।
जेठ ५ गते कपिलवस्तु ननगरपालिका–३, सडवास्थित ४ नम्बर तौलिहवा सडक खण्डमा तौलिहवातर्फ आउँदै गर्दा मोटरसाइकलमा सवार नेता पाण्डेसहित अन्य दुई भारतीय नागरिकमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट कपिलवस्तु नगरपालिका–१ का ३४ वर्षीया पाण्डे घाइते भएका थिए । उनको अहिले मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
यस्तै मोटरसाइकल चालक भारतको बस्तीथाना, मुण्डिलवाग्राम टिकौरा बस्ने ३६ वर्षका मोहमद ईसाद खान, सोही मोटरसाइकलमा सवार भारत सिद्धार्थनगर ग्राम चेतरी बजार बस्ने वर्ष २६ का ईयाज अख्तर मुसलमान सामान्य घाइते भएका थिए । तीन जनाको समूहमा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले उनीहरुमाथि गोली प्रहार गरी फरार थिए ।
उनीहरुमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–१ का ३९ वर्षीया ओम प्रकाश यादव र कपिलवस्तु वडा नम्बर २ का ३३ वर्षीया साकिर अलि पाखियालाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले अभियुक्तको साथबाट घटनामा प्रयोग भएको लु१६प ३४९७ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल, एउटा गोली र गोलीको एउटा खोका समेत बरामद गरेको कपिलवस्तु प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
अनुसन्धानका क्रममा प्रकाश यादवले घाइते पाण्डेसँगको व्यक्तिगत दुस्मनीका कारण अन्य साथीहरुसँग मिली पाण्डेलाई गोली हानी हत्या गर्ने योजना बनाई गोली प्रहार गरेको स्वीकारेको प्रहरीले बताएको छ । घटना सम्बन्धमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘घटनामा अरु को कसरको संलग्नता छ भन्ने विस्तृत अनुसन्धानबाट खुल्छ’, डीएसपी भण्डारीले भने ।
प्रतिकृया दिनुहोस्