October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

कोरोनाबाट बालबालिका र दीर्घरोगी बढी जोखिममा

भैरहवा- नेपालमा बालबालिका र दीर्घरोगीमा कोरोना संक्रमण बढ्दै गएको छ । संक्रमित दीर्घरोगीमध्ये ४० वर्ष माथिका बढी छन् । यस्तै, १ देखि १५ वर्षसम्मका बालबालिकामा पनि संक्रमण उस्तै छ । हुनतः दोस्रो लहरको कोरोनाबाट सबै उमेर समूह संक्रमित छन् तर पनि बढी जोखिम दीर्घरोगी र बालबालिका भएको चिकित्सक बताउँछन् ।

Advertisement

रुपन्देहीमा पनि बालबालिका र दीर्घरोगी कयौं संक्रमित भएका छन् । एकातर्फ उमेर ढल्कँदै जाँदा बृद्धबृद्धामा रोगप्रतिरक्षा क्षमता कम हुँदै जान्छ, अझ त्यसैमा दीर्घरोगी भए संक्रमणले झनै जोखिम निम्त्याउने भीम अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.शकुन्तला गुप्ता बताउँछिन् ।

Advertisement

‘यहाँ संक्रमित भई कयौं दीर्घरोगी उपचारमा आउनुभएको छ, उहाँहरुलाई हाईफ्लो अक्सिज चाहिने गरेको छ । भाइरसले उहाँहरुमा इन्फेक्सन बढीमात्रामा हुने गरेको छ, कतिपयको त फोक्सोमा इन्फेक्सन हुँदा मृत्यु पनि भएको छ’, उनले भनिन्, ‘त्यसैले महामारीमा दीर्घरोगीलाई विषेश ख्याल गरेर जोगाउन जरुरी छ ।’

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार दोस्रो लहरमा दीर्घरोगी भन्दा बालबालिकामा संक्रमण बढी छ । ‘रुपन्देहीको डाटा हेर्नुहुन्छ भने कुल संक्रमितमध्ये १० प्रतिशत बालबालिकामा संक्रमण भएको छ’, स्वास्थ्य कार्यालय प्रमुख डा.राजेन्द्रप्रसाद गिरीले भने, ‘अघिल्लोपल्ट भन्दा यसपटक धेरै बालबालिका संक्रमित भएका छन् ।’

अहिले जन्मेदेखि माथिका सबैमा संक्रमण देखिएको उनले बताए । विषेश गरी ६० वर्षसम्मको उमेर समूहमा बढी संक्रमण पुष्टि भएको गिरीले जनाए । बृद्धाबृद्धाको हकमा एक वा दुईपल्ट खोप लगाएकाहरुमा अलि कम संक्रमण देखिएको स्वास्थ्य कार्यालयले बताएको छ । तर, खोप लगाए पनि दीर्घरोगीमा भने संक्रमित भएका छन् ।

खासगरी दीर्घरोगीहरुमा दम, क्यान्सर, मिगौला, प्रेसरका विरामीहरुमा बढी संक्रमण देखिएको छ । ‘यस्ता रोगका दीर्घरोगीहरु आफैमा जोखिममा हुनुहुन्छ, अझै कोरोना भइहाले झनै जोखिम हुन्छ’, उनले भने । कतिपय अवस्थामा परिवारका सदस्य र अभिभावक सावधान नहुँदा, उनीहरुबाट लापरबाही हुँदा बालबालिका र दीर्घरोगी संक्रमित हुने गरेका छन् । विशेषगरी अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, खाद्यान्न व्यापारीका आफन्त उच्च जोखिममा पर्ने गरेका छन् ।

भीम अस्पतालका नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.आरिफ हुसेन भन्छन्, ‘कामबाट, घर बाहिर गएर फर्किँदा सिधैं बच्चाहरुलाई उचाल्ने, खेलाउने, काखमा लिने गर्नुभएन । कम्तिमा घर गएपछि बाहिर जाँदा लगाएका कपडा चेन्ज गर्ने, नुहाउने, सेनिटाइज हुने गर्नुपर्छ । यसले केही हदसम्म बालबालिकालाई संक्रमणबाट जोगाउन सकिन्छ ।’

कितपय अवस्थामा सामान्य स्वास्थ्य मापदण्ड पालन नगर्दा पनि बालबालिका संक्रमित हुने गरेको उनको भनाई छ । ‘आफू र आफ्नै सन्तानका लागि हो भनेर हामीले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ, लापरबाही गर्ने अनि पछि चिन्ता गरेर हुँदैन’, उनले भने, ‘बालबालिकामा इमिनिटी पावर कम हुन्छ, यसलाई परिवारले ख्याल गर्नुपर्छ ।’

बच्चालाई पोसिलो खाना खान दिने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । स्वास्थ्य कार्यालयका अनुसार संक्रमित भए पनि बालबालिकाको मृत्युदर भने कम छ । तर, संक्रमित दीर्घरोगी र बृद्धबृद्धाको मृत्युदर भने बढी छ । यसलै बालबालिका र दीर्घरोगी मात्रै होइन, सबै उमेर समूहका नागरिक कोरोनाबाट जोगिनु पर्ने चिकित्सकको सुझाव छ ।

संक्रमणको जोखिममा रहेका दीर्घरोगीहरुलाई अस्पताल पुग्नै समस्या छ । खासगरी अस्पतालमा नियमित फलोअप गर्नुपर्ने दीर्घरोगीलाई समस्या हुने गरेको हो । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ की पार्वती पौडेलले आफू नियमित फलोअप गर्न भारतको अस्पतालमा जानुपर्ने भए पनि संक्रमण फैलिएका कारण जान नपाएको बताइन् ।

‘नेपाल–भारत दुवै देशमा संक्रमण तीव्र छ, सबै बन्द छ । यस्तो बेला बाहिर निस्कनै कठिन छ, कसरी अस्पताल जानू । अस्पतालमा जोखिम झनै बढी छ । जाउआउको समस्या पनि छ । यसैले फलोअपका लागि पनि गएकी छैन’, उनले भनिन्, ‘जोखिममा रहेका दीर्घरोगीहरु महामारीका बेला अली बढी सचेत हुनुपर्छ ।’ उनी क्यान्सरको दीर्घ रोगी हुन् ।

स्वास्थ्य कार्यालयले अहिलेसम्म कतिजना दीर्घरोगी संक्रमित भए भन्ने तथ्यांक ननिकाले पनि अस्पतालहरुमा यस्ता किसिमका विरामी अत्यधिक छन् । महामारीको बेला नियमित डाइलासिस गर्नुपर्ने विरामीलाई बढी खतरा छ । चिकित्सकहरुले खासगरी बालबालिका संक्रमित भएमा उनीहरुले बृद्धबृद्धा र दीर्घरोगीहरुलाई रोग सार्ने खतरा बढी हुने भएकाले सचेत हुनुपर्ने बताउँछन् । बृद्धाबृद्धा र दीर्घरोगी भएको घरमा बालबालिका संक्रमित भएमा उनीहरु नमान्ने, जिद्दी गरी लसपस बढी गर्ने भएकाले खतरा हुने चिकित्सकको बताउँछन् ।