सिद्धार्थनगरका निजी विद्यालयले गरे अनलाइन कक्षा पनि अनिश्चितकालीन बन्द


भैरहवा- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन–नेपाल (प्याब्सन) सिद्धार्थनगरले अनलाइन कक्षा समेत बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणका कारण विद्यार्थीहरु र शिक्षकहरुको घरपरिवारमा प्रभाव परेको भन्दै हाल संचालनमा रहेको अनलाइन कक्षा बन्द गर्ने निर्णय गरिएको अध्यक्ष एल.बी बस्नेतले जानकारी दिए ।
प्याब्सन सिद्धार्थनगरले निजी विद्यालयका प्रिन्सिपल र विद्यालयलाई पत्राचार गर्दै अनलाइन कक्षा बन्द गर्न भनेको छ । अध्यक्ष बस्नेतका अनुसार जेठ ९ गतेदेखि सिद्धार्थनगर क्षेत्रमा रहेका प्याब्सनमा आबद्ध विद्यालयहरुले अनिश्चितकालका लागि अनलाइन कक्षा बन्द गर्ने छन् ।
बैशाख १६ गतेबाट रुपन्देहीमा निषेधाज्ञा लागू भएपछि निजी विद्यालयहरुले अनलाइनमार्फत् विद्यार्थीहरुलाई पठनपाठन गराउँदै आएका थिए । कोरोना प्रभाव बढेसँगै अहिले उक्त पठनपाठन पनि रोकिएको हो ।
प्याब्सनले अध्यक्ष बस्नेत र सचिव राजेन्द्र घिमिरेले विद्यालयहरुलाई गरेको पत्राचारमा भनिएको छ, ‘कोरोना महामारीको दोस्रो लहरले हामी सम्पूर्णको जनजीवन कष्टकर बनेको छ । यस विषम परिस्थितिका कारण विद्यालयहरु पूर्णरुपमा बन्द छन् । भौतिकरुपमा कक्षा संचालन नभए पनि आजसम्म बैकल्पिक माध्यम अपनाई अनलाइन कक्षा संचालन भइरहेको थियो । तर, विद्यार्थी र शिक्षकका परिवारसमेत कोरोनाबाट प्रभावित भएकाले जेठ ९ पछि अनलाइन कक्षा पनि अनिश्चितकालका लागि बन्द गरिएको छ ।’
प्याब्सनले अर्को सूचना नआउँदासम्म अनलाइन कक्षा संचालन रोक्न मातहतका सबै विद्यालयलाई आग्रह गरेको छ । प्याब्सनले शैक्षिकसत्र २०७७ को वार्षिक परीक्षा भने उपयुक्त विधि प्रयोग गरी संचालन गरिने भएको जनाउँदै विद्यार्थीहरुले अध्ययनलाई निरन्तरता दिन अनुरोध समेत गरेको छ ।
हेर्नुहोस् पत्र

प्रतिकृया दिनुहोस्