May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

कपिलवस्तुमा माओवादी युवा नेतामाथि गोली प्रहार

कपिलवस्तु- कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका जिल्लास्तरीय युवा नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा युवा नेता पाण्डेमाथि बुधबार राति गोली प्रहार भएको हो ।

Advertisement

तीनजनाको समूहमा आएका अपरिचित समूहले पाण्डेमाथि गोली प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ । कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको अपरिचित समूहको गोली प्रहारबाट पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

गोली लागी घाइते घाइते पाण्डेको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पाण्डेको शरीरबाट एउटा गोली निकालिएको र अर्को निकाल्न बाँकी रहेको कपिलवस्तु प्रहरी प्रवक्ता भण्डारीले बताए । पब्लिक कुरालाई जानकारी दिए ।

एउटा गोली शरीरबाट निकालिएपछि अहिले पाण्डेको अवस्था मध्यम रहेको उनले बताए । निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका तीनजनाको समूहले पाण्डेमाथि गोली चलाएको डीएसपी भण्डारीले बताए । गोली लागेका पाण्डे नदीजन्य पदार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले व्यावसायिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।
घटनाबारे अनुसन्धान सुरु भइरहेको प्रहरीले बताएको छ । के कति कारणले पाण्डेमाथि गोली प्रहार भयो, घटनामा संलग्न को हुन भन्नेबारे खोजी भइरहेको भण्डारीले बताए ।