बाँकेमा उपचाररत थप आठ संक्रमितको मृत्यु


बाँके- बाँकेमा गए रातभरीमै ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार बुधबार साँझ ५ बजेदेखि मध्यराति १ बजेका बीचमा ८ जनाको मृत्यु भएको हो ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचाररत ७ जना र नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा उपचाररत १ जना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गत बैशाख २७ गते भेरी अस्पताल भर्ना भएका डुडुवा ५, बाँकेकी २८ वर्षीया महिला, जेठ ३ गते भेरीमै भर्ना भएका खजुरा ३ बाँकेका ८५ वर्षीय पुरुष, जेठ ५ गते भेरी अस्पताल पुगेका बाँसगढी, बर्दियाका ४२ वर्षीय पुरुष र जेठ ३ गते भेरी अस्पताल भर्ना भएका तुलसिपुर, दाङका ६५ वर्षीय पुरुष छन् ।
यस्तै, जेठ ४ गते भेरी अस्पताल भर्ना भएका बढैयाताल, बर्दियाका ४५ वर्षीय पुरुष, ४ गते नै भेरीमा भर्ना भएका घोडाघोडी, कैलालीका ४५ वर्षीय पुरुष, ३ गते सोही अस्पताल भर्ना भएका गुलरिया ४, बर्दियाकी ६५ वर्षीया महिला र ५ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका राप्ती सोनारी ६, बाँकेका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५६ पुगेको छ । यस्तै, जिल्ला बाहिरबाट यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका २ सय १४ जनाको मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्