November 29, 2023, Wednesday
१३ मंसिर २०८०, बुधबार

तिलोत्तमाले बनायो अक्सिजनसहितको अस्थायी अस्पताल

तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अत्याधुनिक कोभिड–१९ अस्थायी अस्पताल निर्माण गरेको छ । कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा वडा नं. ९, केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा कोभिड अस्पताल बनाएको हो ।

Advertisement

तत्काल ४० बेड रहे पनि उक्त कोरोना अस्थायी अस्पतालमा बेड संख्या एक सय पुर्याउन सकिने ठाउँ रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । शंकरनगरमा रहेको आइसोलेशन सेन्टरले बिरामीको चाप थेक्न नसक्ने देखिएपछि थप आइसोलेशन सेन्टर निर्माण गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

Advertisement

उनले भने, ‘विरामीको चाप बढी छ, पहिला बनाएको आइसोलेसनले नधान्ने भयो । विरामीले सुविधा पाउनबाट बञ्चित हुनुहुँदैन भनेर यहाँ पनि बनायौं । यसलाई आवश्यकताअनुसार क्ष्मता बढाउने छौं ।

नगरपालिकाको सभाहल नयाँ रहेकाले विद्युत्, खानेपानी, सरसफाईलगायत आवश्यक पूर्वाधार निर्माण गरी आइसोलेशन सेन्टर निर्माण गरिएको हो । अस्थायी अस्पतालमा सेन्टर फ्लो अक्सिजन सिष्टमबाट बिरामीलाई आवश्यकताअनुसार अक्सिजन उपलब्ध गराइने कोरोना फोकल पर्सन केशव भट्टराईले बताए । अस्पतालमा स्वास्थ्यकर्मीसहितको चिकित्सकीय सेवा दिइने छ ।

उनले भने, ‘सेन्टर फ्लो सिष्टमबाट बिरामीलाई अक्सिजन दिँदा अक्सिजन किफायती हुन्छ । समय कम लाग्छ, विरामीलाई सहज पनि हुन्छ ।’ बुधबार अस्थायी अस्पतालको चावी कोरोना फोकल पर्सन भट्टराईलाई हस्तान्तरण गर्दै नगर प्रमुख घिमिरेले कोरोना महामारीसँग जुध्न नगरपालिकाले उपलब्ध सबै साधनस्रोतको उच्चतम प्रयोग गर्ने जनाए ।

अस्थायी अस्पताल निर्माणमा सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै नगर प्रमुख घिमिरेले अस्पतालमा थप सेवा सुविधा थप्दै लगिने र संक्रमितलाई अधिकतम सुविधा दिइने बताए । नगरपालिकाले अस्थायी अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि नगर उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।

समितिको सदस्यहरुमा वडा नं. ९ का वडाध्यक्ष नारायण न्यौपाने, वडा नं. ५ का चेतनारायण भण्डारी, वडा नं. ७ का दुर्गा पाण्डेय, वडा नं. ८ का कृष्ण पौडेल, प्रवक्ता सुरेन्द्र श्री, स्वास्थ्यकर्मी खगराज पोखरेल, गणेश भण्डारी तथा ईलाका प्रहरी कार्यालय मंगलापुरका प्रतिनिधि छन् । यस्तै, सदस्य सचिवमा भने कोरोना फोकल पर्सन केशव भट्टराई तोकिएको छ ।