बाँके र रुपन्देहीमा एकैरातमा २२ संक्रमितको मृत्यु
रुपन्देही/बाँके- रुपन्देही र बाँकेका विभिन्न अस्पतालमा गरी एकै रातमा २२ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बाँकेका १५ र रुपन्देहीका अस्पतालहरुमा उपचाररत ७ जनाको मृत्यु भएको हो । रुपन्देहीमा मृत्यु हुनेमध्ये एक जना पत्रकारसमेत छन् ।
रुपन्देहीको भैरहवामा रहेको भीम अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलका अनुसार यहाँ उपचाररत ओमसतिया गाउपालिका–६ का ५७ वर्षीय पुरुष, नवलपरासी रामग्राम नगरपालिका–६ का ४६ वर्षीय पुरुष र लुम्बिनी सांस्कृतिक नगपालिकाका ४५ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु हुनेहरुमा तिनाउ ६, पाल्पाकी ६० वर्षीया महिला, बुटवल १३ का ५२ वर्षीय पुरुष, बुटवल ७ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ५ का पत्रकार हिक्मत चौधरीको पनि मृत्यु भएको ।
बाँकेमा पनि १० घण्टाकाबीचमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार राती ८ः३० बजेबाट बुधबार बिहान ६ः३० बजेका बीचमा यति धेरै जनाको मृत्यु भएको हो । ७ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा र ८ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीकाअनुसार सानोभेरी रुकुमाका ३६ वर्षीय पुरुष, कोहलपुर १२ का ४१ वर्षीय पुरुष, बढैयाताल बर्दियाका ८४ वर्षीय पुरुष, भेरीमै भर्ना भएका नेपालगन्ज ६ का ४५ वर्षीय पुरुष, मेडिकल कलेज कोहलपुर भर्ना भएका राप्तीसोनारी ३ बाँकेकी ५९ वर्षीया महिलाको मृत्यु भएको छ ।
यस्तै, टिकापुर १६ कैलालीका २८ वर्षीय पुरुष, मेडिकल कलेजमा कोहलपुर ११ की ५८ वर्षीया महिला, सोही अस्पताल भर्ना भएका नेपालगन्ज ३ का ६१ वर्षीय पुरुष, त्रिवेणी १ रुकुम पश्चिमकी २७ वर्षीया महिला, नेपालगन्ज ४ का ६७ वर्षीय पुरुष, कोहलपुर ४ का ४२ वर्षीय पुरुष र भेरी अस्पताल भर्ना भएका ठाकुरबाबा बर्दियाका ६३ वर्षीय पुरुषको राती मृत्यु भएको छ ।
यस्तै, भेरीमा भर्ना भएकी ठाकुरबाबा बर्दियाकी ३८ वर्षीय महिला, तुलसिपुर दाङका ६५ वर्षीय पुरुष र भेरी अस्पतालमै भर्ना भएकी लम्की चुहा कैलालीकी ६८ वर्षीया महिलाको पनि मृत्यु भएको ओलीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्