October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

अस्ताए रुपन्देहीका पत्रकार चौधरी

भैरहवा- कोरोना भाइरस संक्रमित रुपन्देहीका पत्रकार हिक्मत चौधरीको निधन भएको छ । बुटवलस्थित धागो कारखानामा रहेको लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा उपचाररत चौधरीको आज बिहान निधन भएको हो ।

चौधरीको दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । रेडियो लुम्बिनीमा कार्यरत उनी लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील थिए । वैशाख २४ गते स्वास्थ्यमा समस्या आएपछि उनी तिलोत्तमा नगरपालिकाको शंकरनगरमा रहेको आइसोलेसनमा बसेका थिए ।

विस्तारै स्वास्थ्य अवस्था विग्रँदै गएपछि नेपाल पत्रकार महासंघ, रुपन्देही शाखाका अध्यक्ष रामराज पोखरेलले बुटवलस्थित धागो कारखानामा लगेर भर्ना गरेका थिए । सुरुमा उनको एचडीयू बेडमा राखेर उपचार भए पनि स्वास्थ्य झन जटिल बनेपछि आईसीयूमा राखेएर उपचार गरिएको थियो ।

दुई दिन अघिबाट उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकामा आज विहान निधन भएको अस्पतालले जनाएको छ । तिलोत्तमा–५ का स्थायी बासिन्दा ६१ वर्षीय चौधरीका २ छोरा, ४ छोरी र श्रीमती तथा नातिनातिना छन् ।

पत्रकार महासंघ, रुपन्देही शाखाको निवर्तमान कार्यसमिति सदस्य रहेर उनले काम गरिसकेका थिए । चौधरीको निधनले रुपन्देहीको पत्रकारिताले एउटा धरोहर गुमाएको महासंघले जनाएको छ ।

महासंघ अध्यक्ष पोखरेलले जति कोसिस गर्दा पनि पत्रकार चौधरीलाई बचाउन नसकिएको बताए । ‘हामीले धेरै कोसिस गर्यौ तर उहाँलाई बचाउन सकिएन, उहाँको निधनले पत्रकारिता जगतले ठूलो क्षति व्यहोरेको छ’, अध्यक्ष पोखरेलले भने ।

सरल, इमान्दार र मृदुभाषी स्वर्गीय पत्रकार चौधरीप्रति पब्लिक कुरा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।