राष्ट्रिय सभा निर्वाचनः दल फेरुवा उम्मेदवारमा कुन बलियो ?


रुपन्देही, जेठ ४ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दुईजनाको उम्मेदवारी परेको छ । दल बदलेका दुई जना उम्मेदवार बनेपछि सर्वत्र उनीहरुको चर्चा छ ।
मंगलबार भएको उम्मेदवारी दर्तामा एमालेका तर्फबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दीर्घनारायण पाण्डेयले उम्मेदवारी गर्दा गरेका हुन् ।
एमालेका तर्फबाट उम्मेदवारी दर्ता गरेका खड्का यसअघि राष्ट्रियसभा सदस्य थिए । माओवादी परित्याग गरेर एमाले प्रवेश गरेपछि उनको पद खुस्किएको थियो । मालारानी–५, अर्घाखाँची निवासी उनी एमालेको जिल्ला इञ्चार्ज समेत हुन् र उनलाई एमालेले पहिलेकै पदमा उम्मेदवार गराएको हो । खड्का माओवादीबाट कारबाहीमा परेपछि रिक्त रहेको उक्त पदमा निर्वाचन हुन लागेको हो ।
यस्तै, चार दलीय गठबन्धनबाट उम्मेदवारी दिएका पाण्डेय यसअघि लुम्बिनी प्रदेशसभा सदस्य थिए । एमालेका तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित उनी केही दिनअघि सांसद पदबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कपिलवस्तु निवासी उनै पाण्डेय प्रदेश सभा निर्वाचन अघि काँग्रेस थिए । काँग्रेसले टिकट नदिएपछि एमाले प्रवेश गरेर उम्मेदवार बनी निर्वाचित भएका थिए । अहिले फेरि काँग्रेस प्रवेश गरेका उनलाई चार दलले उम्मेदवार बनाएर मैदानमा उतारेका हुन् ।
दुबै जनाले मंगलबार दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गरेका हुन् । दल बदलेर उम्मेदवारी बनेका उनीहरुबीच कसले बाजी मार्ला भनेर लुम्बिनी प्रदेशमा चर्चा हुन थालेको छ । राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन यही जेठ १७ गते हुँदैछ ।
कसले मार्ला बाजी ?
राष्ट्रिय सभा सदस्य चयनका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता हुन । निर्वाचनमा मतभार प्रदेशको १ बराबर ४८ र स्थानीय तहको १ बराबर १८ हो । लुम्बिनी प्रदेशमा रहेका १ सय ९ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली कांग्रेस ६४, नेकपा माओवादी (केन्द्र) ३९, जसपा १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ४ जना रहेका छन ।
प्रदेश सभामा एमालेका ४२ जना सांसद हुन । तर, बिमला ओलीले माओवादी केन्द्र रोजेकी छिन भने अम्बरबहादुर डाँगीले राजिनामा दिएका छन । दृगनारायण पाण्डेले पनि प्रदेश सभा सदस्यबाट राजिनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका छन । अहिले एमालेका ३९ जना सांसद छन । नेपाली कांग्रेसका १९, नेकपा माओवादी(केन्द्र)का १८, राष्ट्रिय जनमोर्चा १, राजपा उपेन्द्र पक्षका २ जना सांसद छन् ।
यसरी हेर्दा जनता समाजवादी पार्टीले पूर्व सहमति नतोडेमा चार दलका उम्मेदवार पाण्डेयले निर्वाचन जित्ने सम्भावना बलियो छ । प्रदेश सभामा उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीच मतान्तर रहेकाले उनीहरु एकढिक्का भएर गठबन्धनका उम्मेदवारलाई मतदान गर्छन् भन्ने एकीन छैन ।
प्रतिकृया दिनुहोस्