March 18, 2025, Tuesday
२०८१ चैत्र ५

कोरोना संक्रमितको शव व्यवस्थापनमा विचौलिया, ४० हजारसम्म असुली

भैरहवा, जेठ ४ । सिद्धार्थनगर नगरपालिका–१, पक्लिहवाका ७१ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार बिहान भैरहवास्थित भीम अस्पतालमा मृत्यु भयो । मृत्युपछि आफन्तले शव ब्यवस्थापनको तयारी गर्दैै थिए । चारपाँच जना युवाहरु आएर संक्रमितको शव आफैले व्यवस्थापन गर्न नहुने डर देखाए ।

त्यत्तिकैमा उनीहरुले आफूहरुले शव व्यवस्थापनको काम गर्दै आएको बताउँदै त्यसका लागि ६० हजार रुपैयाँ लाग्ने बताए । बार्गेनिङ गर्दै गए र पीडित परिवारबाट ४० हजार रुपैयाँ लिएर भैरहवाको स्वर्गद्वारी घाटमा लगेर शव जलाए ।

Advertisement

कोरोना संक्रमितको मृत्यु भएमा नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएको छ । यदि मृतकका आफन्तले आफै शव व्यवस्थापन गछौं भनेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गर्न दिइएको छ । तर, भैरहवामा भने संक्रमितको शव व्यवस्थापनमा विचौलिया हावी भएको पाइएको छ ।

मृतकका आफन्तलाई सेनाले शव व्यवस्थापन गर्छ भन्ने जानकारी थिएन, पछिमात्रै थाहा पाए । ‘त्यसपछि आफूहरु ठगिएको भन्ने थाहा भयो । अब उक्त पैसा कहाँबाट फिर्ता ल्याउने’, मृतकका आफन्तले भने ।

कोरोनाको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ को २१ (छ) अनुसार कोभिड १९ कारण मृत्यु भएका व्यक्तिको शवको व्यवस्थापन वा अन्त्येष्टि गर्दा आफ्नो परम्परा र संस्कृति अनुसार सम्बन्धित परिवार वा समुदायले २५ जनाभन्दा बढी नहुने गरी जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गरी व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।

पीडित परिवारबाटै यति ठूलो रकम लिएर शव व्यवस्थापन गर्ने विचौलियाको पहिचान भने हुनसकेको छैन । यो समूहले यसअघि पनि रुपन्देहीकै ठूटीपिलका एक संक्रमितको मृत्युपछि ५३ हजार रुपैयाँ लिएर शव व्यवस्थापन गरेको बताइन्छ ।

भीम अस्पतालभित्रै ठगिएको यो परिवार प्रतिनिधि मात्रै हो । स्रोतकाअनुसार अस्पतालकै कर्मचारीले पनि संक्रमितको मृत्युपछि शव र्यापिङ गरेको तीन हजार रुपैयाँसम्म लिने गरेका छन् ।

यसबारे अस्पताल र प्रहरी प्रशासन बेखबर छ । प्रशासनले भने उजुरी आएमा र यदि कसैले शव व्यवस्थापनको नाममा ठगी धन्दा चलाएको भए कडा कारबाही गर्ने जनाएको छ ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले पीडित ठग्नेलाई कारबाही गरिने बताए । ‘आफन्तले व्यवस्थापन नगर्ने भए, सेनाले संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्दै आएको छ । यदि कुनै व्यक्ति तथा समूहले शव व्यवस्थापनका नाममा ठगी गरेको पाइए हामीले कानूनी दायरामा ल्याएर कारबाही गर्छौं’, पौडेलले भने ।

संक्रमितको मृत्यु पछि आफन्त भावविह्वल हुन्छन्, त्यसैको मौकामा अस्पतालभित्रै ढुकेर बस्ने विचौलियाले पीडित परिवारलाई ठग्दै आएका छन् । एउटा शव व्यवस्थापनमै यति मोटो रकम बुझाउन पर्दा पीडित परिवार झनै पीडित बनेका छन् ।