April 18, 2025, Friday
२०८२ बैशाख ५

‘टाउ टेई’ शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने

भैरहवा, जेठ ४ । केही दिन नेपालमा मौसम परिवर्तन हुने भएको छ । अरब सागरमा विकसित भएको ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने मौसमविद्ले जनाएका छन् ।

अहिलेकै समयमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप सक्रिय भएकाले पनि नेपालमा सोमबारदेखि नै दोहोरो मौसमी असर सुरु भएको छ । अहिले पनि अरब सागरमा आफ्नो उग्र रूप निर्माण गर्न सक्रिय रहेको ‘टाउ टेई’ चक्रवात जमिनमा नखसेसम्म यसले आसपासका क्षेत्रमा असर पुर्याउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

चक्रवातले प्रत्यक्ष असर नपारे पनि भारत हुँदै आउँदा अप्रत्यक्ष असर बढी देखिने जनाइएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार सोमबारदेखि आउँदो शुक्रबारसम्म यस चक्रवातको नेपालमा हल्का असर पर्नेछ ।

शनिबारदेखि मौसममा सुधार हुँदै जानेछ । जसअनुसार सोमबार मध्यान्नदेखि नै नेपालको अधिकांश आकाशमा बादल लागेको छ । उनका अनुसार भारतमा यस चक्रवातको असर विगत केही दिनयतादेखि नै चर्को रूपमा देखिएको छ । तर त्यो असर नेपालसम्म आइपुग्दा कमजोर हुने भएकाले पनि ढिला र कम असर पर्ने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार मंगलबार सामान्य रहने चक्रवातको असर बुधबारदेखि शुक्रबारसम्म भने अलि बढी हुनेछ, केह ठाउँमा वर्षा हुने सम्भावना छ । बुधबारदेखि आकाश पूर्ण रूपमा बादलले ढाक्ने र विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना महाशाखाले औँल्याएको छ ।