May 12, 2025, Monday
२०८२ बैशाख २९

आज मुस्लिम समुदायको ‘इद उल फित्र’ पर्व

भैरहवा, वैशाख ३१ । आज ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान धुमधामसँग मनाइँदै छ । यो पर्वलाई ‘इद उल फित्र’ भनिन्छ । यो पर्वका लागि मुस्लिम समुदाय एक महिनासम्म रोजा (उपावास) बसेका थिए ।

रमजान महिनामा नै मुसलमानका सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रत शुक्रबार अन्तिम दिन हो । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो ।

Advertisement

दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान ब्रतको हिजो अन्तिम साँझ मुसलमानले चन्द्रमा हेर्न आकाश तिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ ।

नेपाली जामे मस्जिद काठमाडौंले बुधबार विज्ञप्ति जारी गरी आज नेपालको कुनै भाग र छिमेकी राष्ट्रहरुबाट पनि चन्द्रमा नदेखिएकोले ‘इद’ शुक्रबार मनाउन सूचना जारी गरेको थियो ।

खाडी मुलुकमा विहीबार ‘इद’ धुमधामसँग मनाइएको छ । ती देशहरुमा नेपालको भन्दा एक दिन अगाडि चन्द्रमा हेर्न पाउँछन् । मुस्लिक अगुवा इस्तियाक अहम्मद खाँनले कोरोना महामारीबाट बच्न र बचाउन स्वास्थ्य आचारसंहिता पालना गरेर इद उल फित्तर मनाउन आग्रह गरे ।

यो पर्वमा मुलसलमानहरूले विशेष परिकार बिरयानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन् । फरक–फरक भूगोल विशेषमा ईदको दिन विगतदेखि नै फरक पर्दै आएको छ । तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी)ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकहीँ फरक–फरक क्षेत्रमा दिन फरक पर्ने गरेको छ ।

ईद पर्वमा अल्लाह (भगवान) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।

पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा भए पनि यसपालि कोरोना भाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मस्लिम आयोगले आह्वान गरेको छ ।

ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २.५ प्रतिशत रकम कोषमा दिने परम्परा छ । प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको इस्लाम धर्मावलम्बी बताउँछन् ।

विगतमा जस्तै यस वर्ष रुपन्देहीका मस्जितहरुमा पनि भीडभाड छैन । कोरोनाको त्रासले धेरैले घरमै बसेर पर्व मनाउँदै छन् ।