March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

लुम्बिनी प्रादेशिक अस्पतालका ६४ स्वास्थ्यकर्मी संक्रमित

रुपन्देही, वैशाख ३० । रातदिन कोरोना संक्रमितको उपचार खटिने स्वास्थ्यकर्मी नै ठूलो संख्यामा संक्रमणमा परेका छन् । लुम्बिनी प्रदेशको मुकाम बुटवलमा कार्यरत स्वास्थ्यकर्मीहरु ठूलो संख्यामा संक्रमित भएका हुन् ।

Advertisement

लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ६४ स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित बनेका छन् । ‘रातदिन संक्रमितको उपचारमा खट्दा खट्दै ठूलो संख्यामा हाम्रा स्वास्थ्यकर्मी संक्रमित हुनुभयो’, प्रादेशिक अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले भने, ‘तर, पनि विरामीको उपचारका समस्या नहोस् भनेर अन्य स्वास्थ्यकर्मीहरु रातदिन खट्नु भएको छ ।

Advertisement

स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको स्वास्थ्य सेवा असर परेको छ । ‘धेरै संक्रमित हुँदा सामान्य असर छ परिहाल्छ तर हामीले कमी हुन नदिने प्रयासमा छौं’, डा.गौतमले भने ।

अस्पतालका अनुसार २३ जना नर्सिङ स्टाफ, १५ जना सपोर्टिङ स्टाफ, ५ जना मेडिकल अफिसर, ८ जना पारामेडिक, एनेस्टेसिया २ जना, गाईनोक्लोजिष्ट २ जना, प्रशासन तर्फबाट १ जना र फर्मासिस्ट तर्फका ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । डा.गौतले संक्रमितमध्ये लक्षणसहितका १७ जनाको अस्पतालमै उपचार भइरहेको बताए । लक्षण नदेखिएका संक्रमितहरु भने निवासमै आइसोलेट भएको उनले जनाए ।

अस्पतालमा सबै तहका गरेर कुल ६०० स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन् । अस्पतालले कोरोनासँग सरोकार नरहेका बाहेक अन्य सबै कन्सल्टेण्ट, मेडिकल अफिसर र कोरोना करारका चिकित्सकहरुलाई संक्रमितको उपचारमा परिचालन गरेको जनाएको छ ।

अघिल्लोपल्ट स्वास्थ्य मन्त्रालयको आश्वासनमा होटलमा आइसोलेशन बनाएर संक्रमित स्वास्थ्कर्मीहरुलाई राखिएको थियो । तर, स्वास्थ्य मन्त्रालयले शोधभर्ना नगरिदिएपछि यसपटक स्वास्थ्यकर्मीहरुले पेयवल आइसोलेशन बनाउन नसकेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

अहिले संक्रमित स्वास्थ्यकर्मीले अस्पतालको निवासलाई आइसोलेसन बनाएर बसेका छन् भने कतिपय अस्पतालमै भर्ना भएर उपचार गराइरहेका छन् । प्रादेशिक अस्पतालले संचालन गरेको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालसहित इमर्जेन्सी र फिभर क्लिनिकमा गरि बिहीबार बिहानसम्म ३ सय ५८ जना कोरोना संक्रमितको उपचार जारी छ ।