March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

रुपन्देहीमा जारी निषेधाज्ञा जेठ १३ सम्म लम्बियो

भैरहवा, वैशाख २९ । रुपन्देहीमा जारी निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालयले आउँदो जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा बढाएको हो ।

Advertisement

रुपन्देहीमा यसअघि वैशाख १६ गतेदेखि ३० गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । बुधबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोभिडको प्रभाव झन बढ्दो अवस्थामा रहेको जनाउँदै निषेधाज्ञाको अवधि बढाउन सिफारिश गरेको थियो ।

Advertisement

सोहीअनुसार प्रशासनले निषेधाज्ञा थप गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिए । ‘थप कडाईकासाथ निषेधाज्ञा लागू गर्ने र महामारी नियन्त्रण ल्याउने प्रयास गरिएको छ’, उनले भने ।

निषेधाज्ञा अवधिभर, शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार, भन्सार, फोहरमैला, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि, इन्धन र अत्यावश्यक बस्तुका सामान ढुवानी बाहेक अन्य साधन संचालन गर्न पाइने छैन । अति आवश्यक वाहेकका पसल, व्यवसाय र सेवा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासनले बताएको छ ।

प्रशासनले खाद्यान्न, ग्यास, तरकारी, फलपूmल, दुध लगायतका दैनिक उपभोग्य बस्तुको सहज आपूर्तिका लागि उद्योग व्यापार संगठन र सिद्धार्थ उद्योग वाणिज्य संघले व्यवस्था मिलाउने र कृत्रिम अभाव गरी मुल्य बृद्धि गर्नेलाई कारवाही गरिने समेत जनाएको छ ।

रुपन्देहीमा पछिल्लो समय संक्रमण दर तीव्र बढीरहेको छ । संक्रमण बढ्दै जाँदा मृतको संख्यामा पनि बृद्धि भएको छ । बुधबार साँझसम्म रुपन्देहीमा ७ हजार २ जना सक्रिय संक्रमित छन् । यीमध्ये अधिकांश होम आइसोलेसनमा छन् भने बाँकी अस्पताल र स्थानीय तहले बनाएका आइसोलेसन सेन्टरमा उपचाररत छन् ।

गएको २४ घण्टामा मात्रै जिल्लामा ९ सय ७ नयाँ संक्रमित फेला परेका छन् भने १६ जनाको मृत्यु भएको भएको छ । अहिलेसम्म जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ९ पुगेको छ ।

हेर्नुस् प्रशासनको सूचना