March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

अक्सिजन सकिएको १५ मिनेटमै तीनको मृत्यु

भैरहवा, वैशाख २९ । हिजोदेखि नै अक्सिजन अभाव हुनसक्ने स्वास्थ्यकर्मीहरुले जनाउ दिएका थिए । तर, व्यवस्थापन हुनसकेन । विरामीको चाप अत्यधिक छ, क्षमताले धान्न सक्ने अवस्था नै छैन ।

Advertisement

अक्सिजनकै सहरामा भुइँमा राखेर भए पनि उपचार भइरहेको छ । यो अवस्था भैरहवास्थित भीम अस्पतालको हो । थेग्नै नसक्ने गरी विरामीको उपचार भइरहेको भीममा आजबिहान भने अक्सिजन अभावमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

Advertisement

‘हामीले अक्सिज सकिन लागेको जानकारी प्रशासनलाई गरायौं, प्रमुख जिल्लाअधिकारीले तुरुन्तै व्यवस्थापन गर्नुभएको थियो । तर विरामीलाई भरथेग प्रयास गर्दा पनि बचाउन सएिकन’, अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.शकुन्तला गुप्ताले भनिन् ।

अहिले प्रशासन र प्रदेशको स्वास्थ्य मन्त्रालयबाट अक्सिजन व्यवस्थापनको काम भइरहेको उनले बताइन् । अस्पतालस्रोतका अनुसार बुधबार बिहान १५ मिनेट मात्रै अक्सिजन सकिँदा भीममा उपचाररत तीन जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का ३९ वर्षीय पुरुष, ओमसतिया–२ की ७० वर्षीय महिला र सिद्धार्थनगर–४ की ४४ वर्षीय महिला छन् । मृतकका आफन्तले सरकारले अक्सिजनसमेत सहज गराउन नसक्दा परिबारका सदस्य गुमाउनु परेको भन्दै दुखेसो गरेको छन् ।

अस्पतालका कोरोना फोकल पर्सन डा.आरिफ हुसेनले हिजोदेखि नै अक्सिजन अभाव हुने र विरामीको ज्यान जोखिममा पर्ने आफूहरुले बताए पनि समयमै उपलब्ध नहुँदा समस्या निम्तिएको बताए । उनले भने, ‘यहाँ भएका सबै विरामीलाई अक्सिजन दिनुपर्छ, खपत धेरै छ, सोहीअनुसार आपूर्ति हुन सकेको छैन ।’

अक्सिजन सकिएर ३ जनाको मृत्यु भए पनि बाहिर नेगेटिभ म्यासेज जान्छ भनेर अस्पताल प्रशासन खुलेर बोलेको छैन । भीम अस्पतालका एक कर्मचारी भन्छन्, ‘अक्सिजन नपाएरै १५ मिनेटमा तीन जनाको ज्यान गयो, आपूर्ति सहज भएन भने अझै के–के हुने हो । वरु बेड चाहिँदैन, अक्सिजन भए पुग्छ, यसले धेरैको ज्यान बच्न सक्छ ।’

भीममा आईसीयू, भेन्टिलेटरसहित ८६ संक्रमितको उपचार भइरहेको छ । यी सबै विरामीलाई अनिवार्य अक्सिजन चाहिने अस्पतालले जनाएको छ ।

यता भैरहवाकै युसनभर्सले मेडिकल कलेजमा दुई संक्रमितको मृत्यु भएको छ । भेन्टिलेटरमा उपचाररत मायादेवी गाउँपालिका–७ की ४० वर्षीय महिला र तिलोत्तमा नगरपालिका–१२ की ५६ वर्षकी महिलाको आज बिहान मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए ।

अक्सिजनका लागि रातभर हारगुहार
अस्पतालमा अक्सिजन सकिनै थालेपछि युनिभर्सल मेडिकल कलेजका कर्मचारी रातभर त्यसको जोहोमा जुटेका छन् । मंगलबार राति चितवनबाट ल्याउँदै गरेको १५० थान भरि सिलिन्डर त्यहाँको प्रशासनले रोकेको थियो ।

लगत्तै उनीहरु मध्यराति रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई सहजीकरण गर्न भनेर प्रशसनमा आए । तर प्रजिअसँग सम्पर्क नभएपछि गृह मन्त्रालयमार्फत् सहजीकरण गरेर अक्सिजन ल्याइएको छ ।

‘चितवनबाट अक्सिजन आउनै समय लाग्ने भएपछि हामीले छिपागढमा रहेको शंकर ग्यासमा पुगेर ५० वटा अक्सिजन सिलिण्डर लिएर आयौं र धेरैको अक्सिजन अभावमा ज्यान जानबाट जोगियो’, जनसम्पर्क अधिकृत गुरुङले भने, ‘रात अक्सिजन व्यवस्थापनमै गयो ।’

अस्पतालमा २ सय २५ जना संक्रमितको उपचार जारी छ । त्यसमध्ये १ सय ८० जनालाई अक्सिजनको सहायतामा उपचार भइरहेको छ । गुरुङकाअनुसार एक घण्टामा झण्डै ४०/४५ सिलिण्डर आवश्यक पर्छ । विरामीलाई हाईफ्लोको अक्सिजन दिनुपर्ने बढी छन् । युसिएमएसले अक्सिजन प्लान्टमार्फत् अन्डरग्राउण्ड पाइपलाइनबाट आईसीयू र भेन्टिलेटरमा अक्सिजन सप्लाई गर्ने गर्छ ।