January 26, 2025, Sunday
२०८१ माघ १३

बुटवलमा पाँच संक्रमितको मृत्यु

रुपन्देही, वैशाख २७ । रुपन्देहीको बुटवलमा उपचाररत थप पाँचजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित धागो कारखानामा रहेको लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत चारजना र लुम्बिनी प्रादेशिक अस्पतालको जनरल आईसीयूमा उपचाररत एकजनाको मृत्यु भएको हो ।
वैशाख २३ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका तिलोत्तमा–२ का ५६ वर्षीय पुरुषको आइतबार राति ९ः ५० बजे मृत्यु भएको हो । यस्तै कोरोना विशेष अस्पतालमा बैशाख १७ गते भर्ना भएका कपिलवस्तु बनगाईका ४३ वर्षीय पुरुषको आइतबार राति ८ः३० बजे र सोही अस्पतालमा वैशाख १८ गते भर्ना भएका दाङ तुल्सीपुर–५ की ३७ वर्षिया महिलाको आइतबार राति १०ः०७ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
यस्तै वैशाख २४ गते भर्ना भएका बुटवल–७ का ४५ वर्षीय पुरुषको सोमबार बिहान ७ः५२ मा र १८ गते भर्ना भएका तिलोत्तमा–१ का ६४ वर्षीय पुरुषको बिहान ८.४२ बजे मृत्यु भएको गौतमले बताए ।
संक्रमण तीव्र बन्दै जाँदा रुपन्देहीमा मृतक बढीरहेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांक अनुसार यीसहित रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ ।