April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

संकटका साथी

कोरोना संक्रमितको नजिक पर्न परिवारका सदस्य त डराउँछन भने चिनजानै नभएको संक्रमितको नजिक को पर्ला ? अझ यस्ता विरामीलाई अस्पताल लैजान/ल्याउन झनै समस्या छ । भनेको बेला एम्बुलेन्स पाइँदैन, निजी सवारीले चर्को शुल्क लिन्छन् । यस्तै, समस्यामा परेका संक्रमितका लागि भैरहवाका एकजना युवाले भने सुविधा दिइरहेका छन्, त्यो पनि आफ्नै गाडीबाट निःशुल्क ।
न उनी सरकारी कर्मचारी हुन्, न त व्यवसायिक सवारी चालक, न स्वास्थ्यकर्मी नै । उनी हुन्– भैरहवाका युवा व्यवसायी मंगल भण्डारी । हो, उनै भण्डारीले विगत लामो समयदेखि आफ्नो निजी गाडीलाई कोभिड एम्बुलेन्सकारुपमा प्रयोग गर्दै आएका छन् । विगत एक वर्षदेखि उनी बिहानै उठ्ने वित्तिकै संक्रमितको सेवामा खटिन्छन्, जसले बोलाउँछ, त्यहाँ पुग्छन् र आत्मबल बढाउन ढाडस दिन्छन्, संक्रमितलाई अस्पतालसम्म पुर्याउँछन् ।
‘मैले एक वर्षदेखि नै निःशुल्क कोभिड संक्रमितलाई अस्पताल लैजाने काम गरेको छु, पछिल्लो महामारी यता धेरैले एम्बुलेन्स पाइने मलाई अस्पताल पुर्याइदिन पर्यो भनेर फोन गर्नुहुन्छ, अनि म संक्रमितलाई गाडीमा राखेर अस्पताल लैजान्छु’, उनले भने, ‘आजभोलि दैनिकी यसैगरी वितेको छ ।’ गएको जेठ महिनामा धमाधम संक्रमित बढ्न थाले, त्यो बेला धेरै समाचारहरुमा संक्रमितलाई एम्बुलेन्स चालकहरुले अस्पताल लैजान मानेनन् भन्ने सुने/देखे । त्यसपछि उनको मन छोयो, अस्पताल जान नपाएर कसैको ज्यान जानु हुँदैन भन्ने । अनि आफ्नो निजी गाडीलाई कोभिड एम्बुलेन्स बनाए र निरन्तर संक्रमितलाई अस्पताल लैजाने काम गर्दै आए ।
भण्डारीले त्यसयता २ सय २० जना संक्रमितलाई विभिन्न अस्पतालसम्म पुर्याएका छन् । अहिले संक्रमण तीव्र बन्दै गएपछि उनी बिहानै उठेदेखि रातिसम्म संक्रमितलाई अस्पतालसम्म पुर्याउन व्यस्त छन् । ‘अहिले अक्सिन चाहिने विरामी बढेपछि गाडीमा अक्सिजनसहित सिलिण्डिर पनि राखेको छु, यति कुनै संक्रमितलाई अक्सिजनको समस्या भएको भए अस्पतालसम्म जाँदासम्म उक्त अक्सिजन प्रयोगमा ल्याउने गरेको छु’, उनले भने, ‘कतिपय अवस्थामा बेड नपाउनेहरुका लागि अस्पताल–अस्पताल पुगेर बेडका लागि पहल पनि गर्ने गरेको छु ।’
उनले संकटमा राज्यको मात्रै मुख ताकेर नहुने बताउँछन् । ‘हामीले जहाँ जति सहयोग गर्न सक्छौं गर्नुपर्छ, सबैले हातेमालो गर्यौ भने महामारीबाट जित निकाल्न सक्छौं’, उनी भन्छन् । दर्जन बढी सामाजिक संघसंस्थामा रहेर काम गर्दै आएका भण्डारी सिद्धार्थ उद्योग बाणिज्य संघका सदस्य पनि हुन् । उनी केबल एक उदाहरण मात्रै हुन् । पछिल्लो समय महामारी विकराल बन्दै जाँदा भैरहवा क्षेत्रमा मनकारीहरु बढ्दै गएका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष नेत्रप्रसाद आचार्यले पनि आफ्नो निजी गाडीलाई कोभिड एम्बुलेन्सकारुपमा प्रयोग गर्न सुरु गरेका छन् ।
हप्ता दिनदेखि संक्रमितलाई अस्पताल लैजान सुरु गरेका उनले अहिलेसम्म कयौं संक्रमितलाई मृत्युको मुखबाट जोगाए । भन्छन्, ‘अक्सिन नपाउने, बेड अभाव उस्तै छ, तर कसैको पनि अस्पतालसम्म पुग्न नपाएर ज्यान जोखिममा नपरोस् भनेर मैले मेरो निजी गाडीमा निःशुल्क संक्रमित बोकिरहेको छु ।’
उद्योग बाणिज्य संघकै कार्यसमिति सदस्य धर्मबीर शर्माले निमुखाको सेवा भन्दै खाद्यान्न सहयोग अभियानमा जुटेका छन् । आफ्नो निजी गाडीमा दाल, चामल, तेल, स्वास्थ्य सामाग्रीहरु माक्स र सेनिटाइजर राखेर उनले समस्यामा परेकालाई उपलब्ध गराउँदै आएका छन् । ‘महामारीले धेरैको ज्यान लिइसक्यो, कैयौं अस्पतालको बेडमा छट्पटाइरहनुभएको छ तर यस्तो बेला तल्लो वर्गका नागरिक खान नपाएर मर्ने अवस्था नआओस भनेर मैले खाद्यान्न सहयोग गरिरहेको छु’, उनले भने, ‘अहिलेसम्म दर्जन बढीलाई खाद्यान्न सहयोग गरेँ, कतिलाई स्वास्थ्य सामाग्री पनि ।’
कोरोना संक्रमितलाई उपचारसँगसँगै सबैको माया, सद्भाव, करुणा र स्वयं संक्रमितको आत्मबल बलियो चाहिन्छ । तर कोरोना संक्रमण तीव्र बनेपछि धेरै ठाउँमा एम्बुलेन्स अभावमा संक्रमितलाई अस्पतालसम्म पुग्नै समस्या छ । जतनतन् अस्पताल पुगिहाले बेड र अक्सिजन अभाव छ । यस्तोबेला यहाँका युवाहरुले मन खोलेर सेवा गरिरहेका छन् ।
समाजसेवा आफैमा महत्वपूर्ण पवित्र कार्य हो, हर कोही समाज सेवामा लाग्दैनन्, त्यसका लागि धनसम्पत्ति मात्रै भएर हुँदैन, अन्तरहृदयदेखि मन पनि चाहिन्छ । अझ यस्तो महामारीका बेला रातदिन खटेर निःशुल्क सेवा दिनु आफैमा सराहनीय काम हो । ‘भण्डारी, आचार्य र शर्माजस्ता मनकारी तपाई–हाम्रो समाजमा सयौं थपिँदै जानुपर्छ, राज्यको मात्रै मुख ताकेर हुँदैन, तपाईं हामी सबै मिलेर यो महामारीसँग लड्यौ भने अवश्य जित निकाल्ने छौं’, लुम्बिनी प्रेस क्लबका अध्यक्ष पत्रकार नरेश केसी भन्छन्, ‘हातेमालो र मनकारी मनहरुले स्वतस्फूर्त सहयोग गर्दा धेरैको ज्यान बच्न सक्छ ।’

संक्रमितलाई लिएर भैरहवा भीम अस्पताल परिसरमा पुगेका मंगल भण्डारी । तस्बीरः पब्लिक कुरा

Advertisement