September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

भोटेकोशीको बाढीमा परी भारत पुगेका नौवटा शव नेपाललाई हस्तान्तरण

Advertisement

भैरहवा–भोटेकोशी नदीमा आएको बाढीले बगाएर भारत पु¥याएका नौ वटा शव भारतीय सुरक्षा निकायले सुनौली नाका हुँदै नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

Advertisement

भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लामा रहेका खड्डा र पडरौना थानाका जनपद प्रहरीले ती शव सुनौली नाका हुँदै नेपाल ल्याएर हस्तान्तरण गरेका हुन् । भारतीय प्रहरीले बुधबार अपराह्न चार वटा र मंगलबार राति पाँच वटा शव नेपाल ल्याई रुपन्देहीको सीमावर्ती बेलहिया इलाका प्रहरी कार्यालयमा बुझाएका हुन् ।

नेपाललाई बुझाइएका ती शवमा एक बालिकासहित चार महिला र पाँच पुरुष रहेका छन् । भारत सरकारको शववाहनमा ल्याइएका ती शवको बेलहिया इलाका प्रहरी कार्यालयमा कागजी प्रक्रिया पूरा गरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पु¥याइएको छ ।

शव हस्तान्तरण गर्न आएका भारतको कुशीनगर जिल्लास्थित खड्डा थानाका सब–इन्स्पेक्टर सञ्जीवकुमार मौर्यका अनुसार नारायणी नदी हुँदै बगेर खड्डा थाना क्षेत्रअन्तर्गत पर्ने नारायणी नदीको ठोकर नम्बर ३, मदनपुर सुक्रौली भन्ने स्थानमा नदी किनारबाट ती शव फेला परेका हुन् ।

उनका अनुसार शव फेला परेको स्थान नेपाल–भारत सीमामा पर्ने गण्डक बाँध क्षेत्रबाट करिब ३५ किलोमिटर टाढा रहेको छ । बुधबार ल्याइएका चार शवमध्ये एक जना ९ देखि १२ वर्षकी बालिका, एक जना ३५ देखि ४० वर्षकी महिला, एक जना ४० देखि ४५ वर्षका पुरुष र दाहिने हातमा ‘दशरथ जङ्गे’ लेखिएको २३ देखि २८ वर्षका युवक रहेका छन् ।

कुशीनगरस्थित पडरौना थानाका मेजिस्ट्रेट देवेन्द्रकुमार यादवले गत बिहीबार प्राप्त भएका ती शवलाई फ्रिजसहितको शवगृहमा राखेर पञ्चनामा गराएपछि भारतको गोरखपुरस्थित एम्स अस्पतालमा पोस्टमार्टम गरिएको बताए । उनका अनुसार शवको डीएनएसहितका प्रमाण सुरक्षित राखिएको छ ।