August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

घरायसी भन्दै बिना भन्सार धेरै सामान ल्याउन भैरहवा नाकामा कडाइ

Advertisement

भैरहवा–घरायसी प्रयोजनका नाममा सिमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्राउने क्रमलाई नियन्त्रण गर्न भैरहवा नाका लगायत् रुपन्देहीसंग जोडिएका सवै सिमा नाकामा कडाइ गरिएको छ ।

Advertisement

घरायसी प्रयोजनका नाममा व्यवसायिक कारोवारका लागि भारतमा खरिद गरी सामान ल्याउने र पटक पटक भारतीय बजारमा पुगेर सामान ओसार्ने पेशेवर तस्करीलाई नियन्त्रण गर्न भैरहवा भन्सार कार्यालय र शसस्त्र प्रहरी बलको पहलमा सिमानाकाहरुमा कडाइ गरिएको हो । तर, सर्वसाधारण यात्रुले सामान्य परिमाणमा भारतबाट किनमेल गरेर सामान ल्याउनमा भने कुनै समस्या छैन ।

भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले घरायसी प्रयोजनका नाममा यात्रुबाट भन्सार नाकाबाटै हुने ठूलो परिमाणको आयात नियन्त्रण गर्न र खुल्ला सिमानाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न सिमा नाकामा कडाइ गरिएको बताए । तर, सर्वसाधारण यात्रुले आफ्नै घरका लागि न्यून परिमाणमा ल्याउने सामानलाई भने व्यवहारिक रुपमा हेर्ने गरिएको उनले जनाए । ‘भन्सार राजश्व चुहावट नियन्त्रण गर्न र खुल्ला सिमानाका कारण हुने सवै खालका अवैध गतिबिधि नियन्त्रण गर्न भन्सार नाका सहित अन्य सिमा नाकाहरुमा कडाइ गरिएको हो’ पौडेलले भने, ‘सिमा नाकाहरुमा कडाइ गरिएपछि राजश्व चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव पर्न थालेको छ ।’

उनका अनुसार, यात्रुले सामान्य परिमाणमा घरायसी प्रयोजनलाई ल्याउने सामानमा भने कडाइ गरिएको छैन । घरायसी प्रयोजन देखाएर धेरै परिमाणमा ल्याउने सामान र पेशेवर तस्करले ल्याउने गरेको सामान नियन्त्रणमा लिने गरिएको छ । नियन्त्रणमा लिएको सामान भन्सार गर्न मिल्ने भए तत्काल भन्सार गर्न लगाउने र भन्सार गर्न नमिल्ने सामान भारततिरै फर्काइदिने गरिएको छ ।

अर्थमन्त्रीको संयोजकत्वमा गत चैत १९ गते बसेको केन्द्रिय राजश्व चुहावट नियन्त्रण समितिको बैठकको निर्णय अनुरुप भन्सार नाका र खुल्ला सिमानाबाट सामान ल्याउनमा कडाइ गरिएको हो । सशस्त्र प्रहरी मार्फत् धेरै परिमाणमा सामान नल्याउन र ल्याएमा त्यही अनुरुपको कारवाही हुने सूचना सहितको चेतावनी दिंदै भन्सार नाका र सिमा क्षेत्रमा माइकिगं गरिएको छ ।

सशस्त्र प्रहरी बल २७ नम्बर गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक नवराज बोहराले भारतसंग जोडिएको रुपन्देहीमा पर्ने झण्डै ७० किमी सिमाना क्षेत्रमैं कडाइ गरिएको बताए । ‘सिमाक्षेत्रबाट हुने अवै आयात र अन्य गतिबिधिलाई नियन्त्रण गर्न सक्ने गरि सिमानामा सशस्त्र प्रहरीको तैनाथी गरिएको छ’ बोहराले भने, ‘मुख्य भन्सार नाका र अन्य सिमावर्ती क्षेत्रमापनि घरायशी प्रयोजनको नाममा धेरै सामान नल्याउन माइकिगं गर्दै स्थानियमा सचेत गराउने गरिएको छ ।’

नेपाली उपभोक्तालाई केन्द्रित गरि सिद्धार्थनगर नगरपालिकाको मेउडिहवा क्षेत्र किनारमैं भारततर्फ हप्तामा दुई दिन लाग्दै आएको फरेनी हाटबजारमा कडाइ गरिएको बोहराले जनाए । फरेनी बजारबाट किनमेल गरेर फर्केका नेपाली उपभोक्तामाथि कडाइकासाथ चेकजांच गर्ने गरिएको र अस्वाभाविक परिमाणको सामान पाइएमा नियन्त्रणमा लिने गरिएको उनले बताए ।

फरेनी हाटबजार लागेको दिन सामान किनमेल गर्न जाने नेपाली उपभोक्ताको भिडले कुम्भमेलाको झल्को दिने गर्दथ्यो । स्थानिय उपभोक्तामात्रै नभएर स्याग्जा, पाल्पा, गुल्मी, अर्घाखांची, नवलपरासी लगायत्का जिल्लाबाट व्यापारी समेत पुग्ने गर्दथे ।

भैरहवा भन्सार नाकामापनि सिमावर्ती भारतबाट किनमेल गरि फर्केका यात्रुमाथि भन्सार गेटमैं र डन्डा र बाइपास क्षेत्रमा यात्रुवाहक बस तथा अन्य सवारी साधानमा समेत चेकजांच गर्ने गरिएको छ ।
भन्सार प्रमुख पौडेलले सिमानाकामा गरिएको यस खालको कडाइपछि राजश्व चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव पर्न थालेको दाबी गरे । उनका अनुसार, हाल दैनिक ७ लाख भन्दा धेरै मुल्यका सामान नियन्त्रणमा लिने गरिएको छ । ‘सिमानाकामा गरिएको कडाइपछि भन्सार हुंदै बैध रुपबाट व्यापारिक सामानको आयात बढ्न थालेको छ । सामान किनमेलकालागि भारततर्फ जाने नेपाली उपभोक्ताको संख्यामापनि कमी हुंदै आएको छ’ पौडेलले भने ।

जेनजी आन्दोलनका क्रममा भन्सार कार्यालयको भौतिक संरचनामा तोडफोड र आगजनीको घटनापछि घरायशी प्रयोजन भन्दै यात्रुले धेरै परिमाणमा सामान भित्राउदापनि कडाइ गर्ने मनोबल भन्सार कर्मचारी र सुरक्षाकर्मीको नहुदा सामान धेरै ल्याउने क्रम बढ्दै गएको थियो ।

सामान किनमेल गर्न बिहानदेखि सांझसम्म सिमावर्ती भारतको सुनौली र नौतनवा पुग्ने नेपाली उपभोक्ताको बिगतमा जस्तो तांती सिमानाकामा कडाइ गरिएपछि देखिदैन । भैरहवा भन्सार नाकाबाट दैनिक ५ हजार भन्दा धेरैको संख्यामा पैदल यात्रुको आवागमन हुने गरेको अनुमान रहेको भन्सार प्रमुख पौडेलले बताए ।

खाद्यबस्तु, लत्ताकपडा, तैयारी पोसाक, श्रृंगारका सामान, खेलकुद तथा स्टेशनरी सामान, ड्राइ तथा फास्टफूड, भाडावर्तन, बिद्युतिय तथा विभिन्न मेसिन, उपकरण लगायतका सामाग्री सुनौली बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार ठूलो परिमाणमा नेपाल भित्रिने गर्छ ।