August 8, 2026, Saturday
२०८३ श्रावण २३ शनिबार

भैरहवाको हाटबजार अव अत्याधुनिक सामुदायिक कृषि भवनमा

Advertisement

भैरहवा–सडक किनारमा लाग्दै आएको भैरहवाको हाटबजार बिहीवारदेखि अत्याधुनिक सामुदायिक कृषि भवनमा स्थानान्तरण भएको छ । खुल्ला आकाशमुनि बर्षौंदेखि अव्यवस्थित ढंगले लाग्दै आएको हाटबजार सुविधा सम्पन्न भवनमा सरेपछि व्यवसायी र उपभोक्ता दुवै पक्ष खुशी छन् ।

Advertisement

हाटबजार स्थानान्तरण भएसंगै सञ्चालनमा आउन नसकेर बर्षौंदेखि अलपत्रमा परेको करोडौं लागतको सिद्धार्थनगरपालिकाको पाँच तल्ले ‘ए ब्लक’ सामुदायिक कृषि भवनपनि प्रयोगमा आएको छ । उक्त भवनलाइ सञ्चालनमा ल्याउन सिद्धार्थनगर नगरपालिकाको कार्यपालिका बैठकले २ हप्ता अघि बैशाख ३ गतेदेखि जसरीपनि हाटबजार स्थानान्तरण गर्ने निर्णय गर्दै आफ्नो व्यवसाय भवनमा सञ्चालन गर्न चाहने व्यवसायीकालागि बैशाख २ गतेसम्म निवेदन दिने समय तोकेको थियो ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले जुन उद्येश्यले सामुदायिक कृषि भवनको निर्माण गरिएको हो त्यही अनुरुप हाटबजारलाई स्थानान्तरण गरि व्यवस्थापन गरिएको बताए । ‘कृषि सामुदायिक भवनमा स्थानान्तरण हुन चाहने व्यवसायीकालागि २ हप्ताको म्याद दिदै निवेदन आव्हान गरेपछि व्यवसायी स्थानान्तरण हुनकालागि एकाएक उत्साहित देखिए’ थापाले भने, ‘पहिलो चरणमा कृषि उपजका बस्तुलाई प्राथमिकतासाथ स्थानान्तरण गरेका छौं र क्रमशः हाटबजारमा उपलब्ध हुने अन्य बस्तुलाईपनि स्थानान्तरण गरिने छ ।’

थापाका अनुसार, आफ्नो व्यवसाय कृषि सामुदायिक भवनमा स्थानान्तरण गर्न ३ सय भन्दा धेरै व्यवसायीले नगरपालिकामा निवेदन दिएका थिए । कृषि उपजका सामान बाहेक हाटबजारमा उपलब्ध हुने माछा, मासु, इलेक्ट्रोनिक सामान, जुत्ताचप्पल, कृषि औजार, कपडा व्यवसाय, ठेला लगायत्का व्यवसायलाईपनि नगरपालिकाले क्रमश कृषि सामुदायिक भवनमैं स्थानान्तरण गर्ने छ । हाल निर्माणाधिन कृषि सामुदायिक भवन अन्र्तगतको बी ब्लकको भवनमा कृषि उपज बाहेकका हाटबजारको व्यवसायलाई स्थानान्तरण गर्ने योजना नगरपालिकाको छ ।

छरिएर रहेका कृषि उपजलाई एकै स्थलबाट उपलब्ध हुने गरि हाटबजार स्थानान्तरण गर्ने लक्ष्यले सिद्धार्थनगर नगरपालिकाले ११ करोड १७ लाख रुपैयाँ खर्चिएर ए ब्लकको कृषि सामुदायिक भवनको निर्माण गरेको थियो । तर, व्यवसायी जान नमानेपछि उद्घाटन गरेको चार बर्ष बित्न लाग्दापनि उक्त भवन प्रयोगमा आउन नसकेर अलपत्रमा पर्दा सिद्धार्थनगर पालिकाको सर्वत्र आलोचित हुँदै आएका थियो । लगानीको औचित्यमाथिपनि माथिपनि प्रश्न उठ्न थालेको थियो ।

आइतवार र बिहीवार र गरि सातामा दुई दिन लाग्ने भैरहवा हाटबजार बर्षौंदेखि मालपोत कार्यालय अगाडीको सडक अवरुद्ध हुने गरि लाग्दै आएको थियो । जसका कारण सडक आवागमन अवरुद्ध हुने गरेको थियो । खुल्ला आकाशमुनि घाम पानी खाँदै हाटबजारको व्यवसाय गर्दै आएका व्यवसायी व्यवस्थित भवनमा व्यवसाय गर्न पाउदा खुशी छन् भने सफा ठाँउ र सवै एकै स्थानमा सामान पाइने भएपछि ग्राहकपनि खुशी छन् ।

बिगत २५ बर्षदेखि हाटबजारमा कृषि उपजको व्यापार गर्दै आएका सिद्धार्थनगर नपा–१० दोगहरीका जनार्दन मुराउ सामुदायिक भवनमा व्यवसाय गर्न पाउँदा निकै खुशी छन् । ‘खुल्ला आकाशमुनि व्यापार गर्दा बर्षामा ओत लाग्ने ठाँउ हुन्थेन र बर्षामा जमिनमा जमेको पानीले तरकारी डुब्ने भएकाले पानी तर्काउनु पथ्र्यो’ मुराउले भने, ‘शौचालय जानु परेमापनि उस्तै समस्या ।’

कृषि सामुदायिक भवनमा व्यवसाय गर्ने व्यवसायीहरुलाई असारसम्म कुनैपनि शुल्क नलिने र त्यसपछि अधिकतम सहुलियत व्यवसायीले पाउने गरि बिकल्पमा बल्ल निर्णय गर्ने सिद्धार्थनगर नगरपालिकाले जनाएको छ ।