June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

गाउँबाटै विकासको थालनी गर्नुपर्नेमा कांग्रेस उम्मेदवार मिश्राको जोड

Advertisement

भैरहवा–रुपन्देही क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार आशुतोष मिश्राले यसपटकको चुनावी अभियानलाई फरक र आधुनिक शैलीमा अगाडि बढाएका छन् । शालिन स्वभावका मिश्राले मतदाताको मन जित्न स्थानीयकै भाषा र प्रविधिको उच्च प्रयोगलाई आफ्नो मुख्य हतियार बनाएका छन् ।

Advertisement

उम्मेदवार मिश्रा मतदातासँग कुरा गर्दा उनीहरूले बुझ्ने स्थानीय भाषालाई प्राथमिकता दिने गर्छन् । जनताका समस्या सुन्नु र उनीहरूकै शैलीमा आफ्ना कुरा राख्नु उनको प्रमुख विशेषता बनेको छ । ‘अहिलेको चुनाव परम्परागत शैलीको मात्रै छैन । सबैको हातमा मोबाइल छ,’उनले भने, ‘त्यसैले सामाजिक सञ्जाललाई विशेष फोकस गरेका छौं ।’

दक्ष आईटी विज्ञमार्फत आफ्ना चुनावी एजेण्डालाई जनताको हात–हातमा पुर्याइरहेको  उनले बताए । पछिल्लो समय जेन–जी पुस्ताको आन्दोलन र त्यसपछिको सामाजिक परिवर्तनलाई मिश्राले नजिकबाट नियालेका छन् । घरदैलोका क्रममा युवाहरूसँग संवाद गर्दै परिवर्तनको प्रक्रियामा नेपाली कांग्रेसले निर्वाह गरेको ऐतिहासिक र वर्तमान भूमिकाबारे बुझाउने काम गरिरहेका छन् ।

उनले कुनैपनि क्षेत्रको विकास जरा अर्थात गाउँबाट बाट सुरु हुनुपर्ने धारणा राखेका छन् । गाउँ विकासलाई रुखसँग तुलना गर्दै उनले भने, ‘जरा भनेको गाउँ हो, यदि गाउँको विकास भयो भने मात्रै सहर दिगो र राम्रो हुन्छ ।’ पहिले गाउँका आधारभूत आवश्यकताहरू बलियो बनाएपछि मात्र समग्र क्षेत्रको विकास अगाडि बढ्ने उनको भनाई छ ।

शिक्षा, स्वास्थ्य र कृषिलाई ग्रामीण तहदेखि नै सुधार गर्दै लैजाने उनको संकल्प छ । मर्चवार क्षेत्रको माटो र मानिससँग भिजेका मिश्राको ‘जरादेखि शिखरसम्म’ को विकासवादी सोच र आधुनिक प्रचार शैलीले यतिबेला रुपन्देही ४ मा नयाँ बहस सिर्जना गरेको छ । पछिल्लो समय मिश्राको माहोल बढ्दैं गएको छ ।