रास्वपा उम्मेदवार खानको लक्ष्य : अन्तर्राष्ट्रिय स्तरका पूर्वाधार र दिगो विकास


भैरहवा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही क्षेत्र नम्बर ५ का उम्मेदवार तौफिक अहमद खाँनले लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरका पूर्वाधार निर्माण गरेर आफ्नो क्षेत्रको दिगो विकासमा जोड दिएका छन् ।
‘परिवर्तन र सुशासन’ को नारासहित घरदैलोमा व्यस्त खानले यसपटक विकास, समानता र क्षमता विकासलाई आफ्नो मुख्य चुनावी मुद्दा बनाएका छन् । रुपन्देही ५ लाई आर्थिक रूपमा सबल बनाउन अन्तर्राष्ट्रिय स्तरका पूर्वाधार र यातायात सुधारमा विशेष जोड दिएका छन् । यातायात सुविधा विना पर्यटन प्रवद्र्धन नहुने उनको धारणा छ । लुम्बिनीमा सजिलैं पर्यटक आउने वातावरण तयार गर्ने उनले बताए ।
धार्मिक पर्यटनको प्रवद्र्धनसँगै यस क्षेत्रमा होटल व्यवसाय, आधुनिक कृषि र साना उद्योगको एकीकृत विकास गर्ने जनाएका छन् । यस क्षेत्रमा बेरोजगारी समस्या समाधानका लागि खानले ‘सीपमूलक तालिम’ को अवधारणा अघि सारेका छन् । युवालाई केवल श्रममा मात्र नलगाई उनीहरूको क्षमता अनुसारको व्यावसायिक सीप दिएर आत्मनिर्भर बनाउने र स्थानीय तहमै रोजगारीका अवसर सिर्जना गर्ने उनको योजना छ ।
यसका साथै ‘स्वच्छ र हराभरा लुम्बिनी’ निर्माणका लागि अभियान चलाउने उनले बताए । शान्ति सुरक्षाको प्रत्याभूति गराई सुरक्षित र दिगो विकासका योजनाहरू लागू गर्ने बताए । राजनीतिमा आर्थिक अनुशासन हुनुपर्ने मान्यता राख्ने खानले ’पारदर्शी बजेट’ को मुद्दालाई सशक्तरूपमा उठाएका छन् । सरकारी बजेटको सही सदुपयोग र जनताले महसुस गर्ने गरी दिगो विकासका कामहरू गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।








प्रतिकृया दिनुहोस्