उपेन्द्र देवकोटा सम्झिँदै थापाले भने– ‘बिरामीको मात्र होइन, समाजकै उपचार गर्नुछ’


भैरहवा–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. लेखजंग थापा यतिबेला घरदैलो र चुनावी प्रचारमा व्यस्त छन् । यसै क्रममा सेतो कोट छाडेर चुनावी राजनीतिमा होमिएका थापाले आफ्नो राजनीतिक यात्रा र जीवन दर्शनको प्रेरणाको स्रोतका रूपमा स्वर्गीय डा. उपेन्द्र देवकोटालाई स्मरण गरेका छन् ।
प्रचार अभियानका क्रममा डा. थापाले देवकोटा केवल एक चिकित्सक मात्र नभई एक ‘पूर्ण मानव’ र मार्गदर्शक भएको बताएका छन् । देवकोटासँगको सामीप्यले आफ्नो जीवनको सोच नै बदलेको उनको भनाइ छ । ‘देवकोटासँग मैले न्युरो साइन्स (स्नायु विज्ञान) मात्र सिकिनँ, समाज बुझ्ने गहिरो दृष्टि पनि सिकेँ,’ थापाले भने, ‘डा. देवकोटाले चिकित्सा, इतिहास र राजनीतिलाई कसरी एकै ठाउँमा जोडेर हेर्नुपर्छ भन्ने कुरा सिकाउनु भयो ।’
उपचारमा लामो समय बिताएका डा. थापाले अब समाजको ‘उपचार’ गर्न आफू राजनीतिमा आएको स्पष्ट पारे । डा. देवकोटाले सिकाएको मार्गनिर्देशन नै आफ्नो राजनीति जग भएको उनले उल्लेख गरे । ‘बिरामीको उपचार मात्र होइन, समाजको उपचार कसरी गर्नुपर्छ भन्ने सोच पनि उहाँबाटै पाएँ,’ उनले भने, ‘आज मैले जे सिकेको छु, सिकिरहेको छु, यो यात्रामा उहाँको प्रेरणा सधैं मार्गदर्शक बनेर साथमा छ ।’
थापाले चुनावी अभियानको सुरुवात देखि रुपन्देही ३ मा नयाँ र बौद्धिक नेतृत्वको आवश्यकता रहेको बताउँदै आएका छन् । उनको ‘भावुक’ तर ’स्पष्ट’ दृष्टिकोणले मतदातामाझ सकारात्मक चर्चा पाइरहेको छ ।








प्रतिकृया दिनुहोस्