रुपन्देही–५ मा घण्टीको गुञ्जन, रास्वपा उम्मेदवार खाँन उत्साहित


भैरहवा – रुपन्देही क्षेत्र नम्बर ५, मा राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) प्रति मतदाताको क्रेज बढ्दैं गएपछि रास्वपा उम्मेदवार तौफक अहमद खाँन उत्साहित छन् । यस क्षेत्रमा बिगतमा स्थापित दलको वर्चस्व रहँदै आएको थियो । यसपटकको निर्वाचनमा अवस्था फेरिएको छ । रास्वपाका युवा उम्मेदवार खाँनको उपस्थितिले बुछ जन्मस्थल रहेको यस क्षेत्रका मतदातामा नयाँ उत्साह छ ।
खाँनका अनुसार अहिले रुपन्देही ५ मा बाहिर देखिए भन्दा भित्रभित्रै ’घण्टी’को पक्षमा ठूलो माहोल बनिरहेको छ । ‘धेरै मतदाता अहिले चुपचाप हुनुहुन्छ, तर उहाँहरूको मनमा घण्टी बजिसकेको छ,’खाँनले भने, ‘अचम्मको कुरा त के छ भने, वर्षौँदेखि अरू पार्टीमा लागेका इमानदार कार्यकर्ताहरू पनि यसपटक देशको अवस्था सुधार्न रास्वपाको पक्षमा खुल्दै आएका छन् ।’
यसपटकको जनलहरले आफूलाई जित नजिक पु¥याइसकेको खाँनले दावी गरेका छन् । उनले रुपन्देही–५ को विकासका लागि आफ्नै ‘भिजन’ प्रस्तुत गरेका छन् । यो बुद्ध जन्मस्थल लुम्बिनीको काखमा रहेको क्षेत्र हो । त्यसैले खाँनले यस क्षेत्रको विकासका लागि आध्यात्मिक पर्यटनलाई मुख्य आधार बनाएका छन् । लुम्बिनीमा आउने पर्यटकलाई यस क्षेत्रका भित्री गाउँसम्म पुर्याउने र पर्यटकीय सुविधाहरूलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना बनाएका छन् ।
युवालाई पर्यटन र प्राविधिक क्षेत्रमा दक्ष बनाउन विशेष ’सीपमूलक तालिम’ केन्द्रहरू सञ्चालन गर्ने जनाएका छन् । वैदेशिक रोजगारीको विकल्पमा स्थानीय स्तरमै कृषि र पर्यटनमा आधारित साना उद्योगहरू सञ्चालन गरी युवालाई स्वरोजगार बनाउने जनाए । खाँन रुपन्देही ५ का रैथाने युवा हुन् । सामाजिक सेवा र युवा परिचालनमा उनी जोडिएका छन् । साथै मर्चवार र लुम्बिनी क्षेत्रको भौगोलिक र सामाजिक विविधतालाई नजिकबाट बुझेका व्यक्ति हुन् ।
भ्रष्टाचार विरोधी अभियान र सुशासनका पक्षमा उनी सधैँ मुखर रहँदै आएका छन् । मुस्लिम समुदायबाट प्रतिनिधित्व गरे पनि उनी सबै जातजाति र धर्मका मानिस बीच लोकप्रिय छन् । उनको सरल जीवनशैली र स्पष्ट बोल्ने शैलीले गर्दा नै रास्वपाले उनलाई यस क्षेत्रको जिम्मेवारी सुम्पेको हो ।








प्रतिकृया दिनुहोस्