सरकारले व्यापारीलाई भगवानको नजरले हेर्नुपर्छ : नेकपा उम्मेदवार खाँन


भैरहवा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देही–३ का उम्मेदवार फैज अहमद खाँनले राज्यले व्यापारीलाई सहयोगीको व्यवहार गर्नुपर्ने बताएका छन् । अहिले निजी क्षेत्रप्रति सरकारको धारण सकारात्मक नदेखिएको उल्लेख गर्दै उनले सरकारले व्यवसायीसित हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा रुपन्देही ३ मा चुनावी सरगर्मी बढ्दैं गएको छ । नेता–कार्यकर्ताको घरदैलो अभियानले गाउँ–सहरमा चहलपहल बढेको छ । यसै सन्दर्भमा खाँनले घरआँगनमा पुगेर हात जोड्दै मत मागिरहेका छन्। बिहीबार उनीसँगै पार्टीका केन्द्रीय नेता हकीउल्ला खान, प्रचार–प्रसार कमान्डर तिलरबहादुर रोकामगर (डार्विन), नेताहरु तारा भण्डारी, नरेन्द्र भण्डारी, कमला थापा, मनिष जोशीलगायतका नेताले भैरहवाका बुद्धचोक, मिलनचोक र बैकरोड क्षेत्रमा कार्यकर्तासहित व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलोका क्रममा खाँनले भैरहवास्थित बेलहिया नाकाको आर्थिक र रणनीतिक महत्वबारे धारणा राखेका थिए । मुलुकको दोस्रो ठूलो भन्सार नाका भएकाले भैरहवा नाकाले राजश्व संकलनमा उल्लेखनीय योगदान गरिरहेको बताए । तर, त्यसको प्रत्यक्ष लाभ जनताले अनुभूति गर्न नसकेको उनले बताए । सकरारको कर नीतिका कारण आम उपभोक्ता र व्यापारी मारमा परेको उनले बताए ।
सरकारको कर संरचना र भन्सार नीतिमाथि प्रश्न उठाउँदै खाँनले ‘भन्सार सुध्रिए देश सुध्रिन्छ’ भन्ने नारा व्यवहारमा लागू हुन नसकेको टिप्पणी गरे । महँगी वृद्धिको मुख्यकारण अव्यवस्थित कर प्रणाली रहेको दाबी गर्दै त्यसकै प्रभावस्वरूप तस्करी मौलाएको उनले आरोप लगाए । ‘जब कर असन्तुलित हुन्छ, बजारमा अस्वाभाविक मूल्य वृद्धि हुन्छ,’उनले भने, ‘त्यसले अवैध कारोबारलाई प्रोत्साहन गर्छ ।’
व्यापारीमाथि राज्यले अविश्वासको दृष्टिकोण राखिएको आरोप लगाउँदै उनले व्यापारीलाई सधैं चोरको नजरले हेरिनु दुःखद भएको बताए । व्यापारीले आफ्नो गाँस काटेर भए पनि कर तिरिरहेकाले उनीहरुलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा सम्मान गर्न आग्रह गरे ।








प्रतिकृया दिनुहोस्