June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

कांग्रेस उम्मेदवार गुरुङको प्राथमिकता ‘समृद्ध रुपन्देही, सम्मानित जनता’

Advertisement

भैरहवा – नेपाली कांग्रेस रुपन्देही–३ का उम्मेदवार सुशील गुरुङले ‘समृद्ध रुपन्देही, सम्मानित जनता’ को मुख्य एजेन्डा अघि सारेका छन् । आफूले गर्ने काममा सधैं जिल्ला र यस क्षेत्रका जनतालाई प्राथमिकता दिने बताए । गुरुङले निर्वाचन अभियानका क्रममा रुपन्देही समृद्धिका लागि विभिन्न ८ बुँदे खम्बा प्रस्तुत गरेका छन् ।

Advertisement

कांग्रेस क्षेत्रीय सभापति रहेका गुरुङले रुपन्देही–३ को विकासका मुख्य रुपमा आठवटा क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएका छन् । विद्यार्थी राजनीतिबाट उदाएका उनले स्थानीय आवश्यकता र सम्भावनालाई समेट्दै गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा जोड दिएका छन् । यस क्षेत्रका जनतालाई उपचारकालागि जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्ने उनले बताएका छन् । त्यसका लािग स्थानीय अस्पतालको स्तरोन्नति र दक्ष जनशक्ति व्यवस्थापन गर्ने जनाएका छन् । यसका साथै यहाँका हरेक नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने र विपन्नका लागि निःशुल्क उपचारको पहल गर्ने जनाएका छन् ।

गुरुङले व्यावहारिक र रोजगारमूलक शिक्षालाई प्राथमिकता दिएका छन् । परम्परागत शिक्षा भन्दा सीपमूलक शिक्षामा जोड दिएका छन् । सीप बृद्धिका लागि प्राविधिक शिक्षालयको स्थापना र सुदृढीकरण गर्ने जनाएका छन् । साथै सरकारी विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारमा जोड दिएका छन् । ‘सामुदायिक विद्यालयलाई कसरी सुदृढ गर्न सकिन्छ भनेर योजना बनाएको छुँ,’उनले भने, ‘यसमा दृढता साथ काम गर्छु ।’

रुपन्देही–३, पर्यटनका दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । बुद्ध जन्मस्थलको प्रवेशद्धार भएकाले लाभ लिनसक्नु पर्ने उनले बताए । लुम्बिनीसँग जोडिएको क्षेत्र भएकाले पर्यटनलाई गुरुङ आर्थिक समृद्धिको इन्जिन मानेका छन् । त्यसैले लुम्बिनी र आसपासका पर्यटकीय गन्तव्य जोड्ने गरी पर्यटन सर्किट निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न पहल गरेर विदेशी पर्यटक भित्र्याउने योजना सार्वजनिक गरेका छन् ।

रोजगारी सिर्जना र युवा जागरणमा पनि ध्यान दिएका छन् । युवाहरू विदेशिनु पर्ने बाध्यतालाई रोक्नस्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने योजना आफूले तयार गरेको उनले बताए । यस क्षेत्रका युवा उद्यमीहरूलाई सहुलियतपूर्ण ऋण र स्टार्टअपमा सहयोग गर्ने जनाएका छन् । युवा जागरण अभियान मार्फत नेतृत्व विकास र सामाजिक उत्तरदायित्वमा युवा सहभागि गराउने जनाएका छन् । आधुनिक कृषि र किसानलाई सम्मान गर्ने कार्यक्रममा जोड दिएका छन् । यस क्षेत्रका कृषकको समस्या समाधान गर्न गुरुङले कृषि आधुनिकीकरणलाई जोड दिएका छन् । साथै मल, बिउ र सिँचाइको उचित व्यवस्थापन गर्ने जनाएका छन् । कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्न शीतभण्डार निर्माणलाई प्राथमिकतामा राखेका छन् ।

बजार व्यवस्थापन र व्यापारिक केन्द्र निर्माण गरेर रुपन्देहीलाई व्यापारिक हब बनाउने लक्ष्य छ । समाजको आधा हिस्सा ओगटेका महिलालाई आर्थिक र सामाजिक रूपमा सबल बनाउन महिला समूहलाई सीपमूलक तालिम र आयआर्जनका कार्यक्रम गरिने जनाएका छन् । स्थानीय नीति निर्माणमा महिलाको अर्थपूर्ण सहभागितामा उनको जोड छ ।