June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

धर्म संस्कृति जोगाउन युवाले थाले भजन किर्तन

Advertisement

भैरहवा– याँहाको प्रसिद्ध नारायणथान मन्दिर परिसरमा हरेक शनिवार साँझ बालवालिका, युवा युवतीदेखि बृद्ध समूह सवैको जमघट हुने गर्छ । सबैजना जम्मा भएपछि सुरु हुने गर्छ, २ घण्टाका लागि भजन किर्तन । यो क्रम गत माघ महिनादेखि निरन्तर चलेको छ । यसको अगुवाइ युवा समूहले युवाले गरेका छन् ।

Advertisement

यसले युवाहरूको विशेष जमघट हुन थालेको छ । ‘भजन भैरहवा’ कार्यक्रम मार्फत उनीहरु एकजुट भइरहेका छन । शनिवार साँझ भेला भएर भगवान स्मरण गर्दै युवाले सामूहिक रूपमा कीर्तन गरिरहेका हुन् । पछिल्लो समय युवापुस्तामा सनातन संस्कृति र धर्मप्रति आकर्षण बढ्दै गएको यसबाट प्रष्ट हुन्छ ।

युवाहरुको यस्तो प्रयासलाई स्थानीयले सकारात्मक पहलका रुपमा लिएका छन् । आयोजक भैरहवा भजनका अनुसार प्रत्येक शनिवार बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन भजन कीर्तन कार्यक्रम सञ्चालन हुन्छ । उक्त कार्यक्रममा हातमा मुजुरा, खैजेडी लिदै गलामा रुद्राक्ष लगाएर युवाहरु मादलको तालमा भक्ति गीत गाउँछन् । धार्मिक वातावरणसँगै आपसी सद्भाव र एकताको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले बताए ।

भैरहवाका प्रतीक भण्डारी पनि नियमित रूपमा भजनमा सहभागी भएर मादल बजाउँदै भजन गाउने गर्छन् । ‘हामी युवाहरू जम्मा भएर आफ्नो कला, धर्म र संस्कृतिलाई जोगाउने उद्देश्यले यहाँ भजन गाउने गरेका छौँ,’उनले भने, ‘यसले हामीलाई आध्यात्मिक सन्तुष्टि दिनुका साथै आपसी सम्बन्ध पनि बलियो बनाउँछ ।’ कार्यक्रम व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका आभिषेक चौधरीका अनुसार दैनिक कामको थकानबाट मुक्त हुन र मन शान्त बनाउन यो भजन–कीर्तन प्रभावकारी माध्यम बनेको छ ।

‘धेरै युवाहरू साताभरि काम गरेर थाकेका हुन्छन्,’उनले भने, ‘यहाँ आएर भजन गाउने र सुन्ने क्रममा उनीहरूले आफ्नो थकान बिर्सने मौका पाउँछन् ।’ भजन–कीर्तनले सबै समुदायलाई एकै ठाउँमा जोड्ने विश्वासका साथ कार्यक्रमलाई निरन्तरता दिइएको आयोजकको भनाइ छ । यसले युवालाई सकारात्मक बाटोमा डो¥याउनुका साथै स्थानीय धार्मिक तथा सांस्कृतिक चेतनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।