June 24, 2026, Wednesday
२०८३ असार ११ बिहीबार

उपेन्द्र यादवले भैरहवा आएर भने- घण्टी हल्लाउँदैमा मधेश हल्लिँदैन

Advertisement

भैरहवा– जनता समाजवादी पार्टी नेपाल (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशको मुद्दा र मधेशी जनताको हकअधिकारको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र साहको कुनै योगदान नभएको जनाएका छन् । सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले मधेशमा बालेन्द्र साह र रास्वपाको कुनै प्रभाव नरहेको दाबी समेत गरे ।

Advertisement

‘मधेश आन्दोलनमा जनविद्रोहमा उहाँ कहाँ हुनुहन्थ्यो ? मधेशी जनताको हकअधिकार दिलाउने मुद्दामा उहाँको के भूमिका छ ?’, यादवले प्रश्न गर्दै भने, ‘बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीको हल्ला सामाजिक सञ्जालमा मात्रै सिमित छ । बास्तविक धरातलमा कुनै प्रभाव छैन ।’ उनले घण्टी हल्लाएर हल्ला मात्रै भएको जनाउँदै यथार्थ त्यस्तो नभएको दावी गरे । उनले राजनीतिक र बैचारिक धारणा बालेनमा नरहेको टिप्पणी गरे ।

संविधान संशोधन, प्रदेश र स्थानीय तहलाई स्रोत साधान हस्तान्तरण गरि अधिकार सम्पन्न बनाउने, गरिबी बेरोजगारी हल गर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक बिकास र समृद्धिका मुद्दा लिएर जसपा नेपाल अहिलेको चुनावमा जनतामाझ गएको यादवले बताए ।

उनले लामो समयसम्म राजनीतिक स्थिरता दिन नसक्दा मुलुक यतिवेला संकटग्रस्त अवस्थामा पुगेको जनाए । यादवले मुलुकमा बहुदलीय व्यवस्था आएको ¬३५ वर्षको अवधिमा ३० पटक सरकार फेरबदल भएको र राजनीतिक अस्थिरताको मुख्य जड नेपाली काँग्रेस र नेकपा एमाले नै भएको आरोप लगाए ।

‘राजनीतिक स्थिरता दिन नसक्दा मुलुकमा अपेक्षाकृत आर्थिक बिकास हुन सकेन । राजनीतिक, आर्थिक, सामाजिक, नैतिक, अन्तर्राष्ट्रिय सम्बन्धको संकटै संकटले मुलुक घेरिएको अवस्थामा छ’, अध्यक्ष यादवले भने, ‘सबैभन्दा धेरै समयसम्म सरकारमा बसेर नेतृत्यदायी भूमिका निर्बाह गरेका नेपाली काँग्रेस र नेकपा एमालेमा सरकारको नेतृत्वमा मात्रै बस्ने र अरुको पार्टी फुटाउनेमा ध्यान केन्द्रित रह्यो ।’

बहुदलीय व्यवस्था आएको लामो समयसम्म भ्रष्टाचार नियन्त्रण, सुशासन, उद्योग, कृषि, स्वास्थ्य लगायतका कुनै पनि क्षेत्रमा सुधार हुन नसक्दा जनतामा नैराश्यता र बितृष्णा पैदा भएको भनाइ उनको थियो । ‘काँग्रेस र एमालेले लामो समयसम्म सरकारको नेतृत्व गरेको अवस्थामा बरु निजीकरण र आर्थिक उदारीकरणको नाममा स्वदेशी उद्योग कलकारखाना बेचिन पुग्दा जनता आक्रोशित हुन पुगे’, उनले भने ।

आधा भन्दा धेरै जनसंख्याले बिरोध जनाउँदा जनाउँदै पनि जवर्जस्ती ढँगबाट अहिलेको संविधान घोषणा गरिएको बताउँदै उनले संविधान संशोधन र पुनर्लेखनको आवश्यकता रहेको बताए । लगानी सुरक्षाको प्रत्याभूति र प्रशासनिक झमेलाका कारण नेपालमा लगानीकर्ता आउन नचाहेको उनको भनाई छ । यादवले जेनजी भावना अनुसार काम गर्ने जनाउँदै विगतका सरकारकै कारण विद्रोह भएको दावी गरे ।