June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

प्रजातन्त्रको रक्षा सुशासन र विधिको शासनबाट मात्र सम्भवः मुख्यमन्त्री आचार्य

Advertisement

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रजातन्त्रको रक्षा राजनीतिक संरचनासँगै पारदर्शिता, उत्तरदायित्व र विधिको शासनको प्रभावकारी कार्यान्वयनबाट सम्भव हुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले लोकतन्त्रलाई जनजीवनसँग जोड्दै सामाजिक न्याय, समान अवसर र आर्थिक रूपान्तरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

Advertisement

उनले विसं. २००७ साल फागुन ७ गते जहानिया राणा शासनको अन्त्यसँगै स्थापित प्रजातान्त्रिक आधारले आजको संघीय लोकतान्त्रिक गणतन्त्रको जग बसालेको उल्लेख गरेका छन् । उक्त ऐतिहासिक उपलब्धिले नेपाली समाजलाई अधिकारप्रति सचेत, राजनीतिक रूपमा जागरूक र परिवर्तनप्रति प्रतिबद्ध बनाएको उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले प्रजातन्त्र स्थापनाका लागि जीवन अर्पण गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै विभिन्न चरणका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अग्रज तथा लोकतन्त्रप्रेमी नागरिकप्रति सम्मान प्रकट गरेका छन् ।

उजले जनताको एकता र संकल्प भए अन्याय, निरंकुशता र विभेदलाई पराजित गर्न सकिने सन्देश यस दिवसले निरन्तर दिँदै आएको उल्लेख शुभकामना सन्देशमा गरेका छन् । लोकतान्त्रिक संस्कार, सहिष्णुता र आपसी सम्मानलाई व्यवहारमा उतार्न सके मात्र प्रजातन्त्रको सार्थकता स्थापित हुने उनको धारणा छ । राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र मान्यताप्रति पुनः प्रतिबद्ध हुने अवसर प्रदान गरेको उनको भनाई छ ।