घरेलु हिंसामा सिद्धार्थनगरका धेरै उजुरी


भैरहवा – रुपन्देहीमा सिद्धार्थनगर नगरपालिकामा घरेलु हिंसाका धेरै घटना हुने गरेको पाइएको छ । गत माघमा जिल्ला प्रहरीमा दर्ता उजुरीका आधारमा सदरमुकामस्थित पालिकामा घरेलु हिंसाका धेरै घटना पाइएका हुन् । जिल्लाका १६ पालिका मध्ये सिद्धार्थनगरबाट सबैभन्दा धेरै उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रहरीले जारी गरेको प्रेस बिज्ञप्ती अनुसार माघमा जिल्लाभरबाट घरेलु हिंसाका ७१ उजुरी प्राप्त भएका छन् । ती मध्ये सिद्धार्थनगरबाट मात्र विभिन्न प्रकृतिका १३ उजुरी परेका हुन् । दोस्रोमा बुटवल उपमहानगर र लुम्बिनी सांस्कृतिक नगरपालिका रहेका छन् । दुबै पालिकाबाट ८–८ उजुरी परेका छन् । त्यसपछि ओमसतियाबाट ७, रोहिणीबाट ६, कोटहीमाई र सियारी गाउँपालिकाबाट ५–५ उजुरी परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तिलोत्तमा र मायादेवी गाउँपालिकाबाट ४–४, गैंडहवा, मर्चवारी र देवदहबाट ३–३, सैनामैना र शुद्धोधनबाट १–१ उजुरी परेका छन् । कंचन र सम्मरीमाई गाउँपालिकाबाट एउटै पनि उजुरी परेको छैन । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार एक महिनामा प्राप्त उजुरी मध्ये घरायसी झै–झगडाका २९, कुटपिट तथा घाउ जाँच केशका ३०, विवाह दर्ता तथा नागरिकता नबनाई दिएको १ र मादक पदार्थ सेवन गरी गालीगलौजका ११ उजुरी परेका हुन् ।








प्रतिकृया दिनुहोस्