June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

महाशिवरात्रि पर्वमा भैरहवाको बसडिलवास्थित शिव मन्दिरमा बिहान २ बजेदेखि श्रद्धालुको भिड

Advertisement

भैरहवा–महाशिवरात्रि पर्वका अवसरमा भैरहवाको बसडिलवास्थित शिव मन्दिरमा श्रद्धालु भक्तजनको भिड लागेको छ । श्रद्धालु भक्तजनको भिडलाई व्यवस्थापन गर्न स्वयमसेवक र सुरक्षाकर्मी ठूलो सँख्यामा परिचालित छन् ।

Advertisement

भगवान शिवको मूर्ती तथा शिवलिङ्गमा जल तथा फुलप्रसाद चढाउन बिहानैदेखि श्रद्धालुहरु लाइनमा बसेर आफ्नो पालो पर्खिरहेका छन् । हातमा फुलप्रसाद, बेलपत्र, दुध तथा जल लिएर भगवान शिवको मूर्ति एवम् शिवलिङ्गमा चढाउन उभिएका श्रद्धालुहरुको लाइन ३ सय मिटर भन्दा लामो छ । लाइनमा युवा युवतीदेखि बृद्धसम्म छन् । पुरुषको तुलनामा महिला, किशोरी तथा युवतीको सँख्या बाक्लो छ । श्रद्धालुको भिडलाई व्यवस्थापन गर्न शिव मन्दिर व्यवस्थापन समितिले महिला र पुरुषको अलग अलग लाइनको व्यवस्था गरेको छ ।

श्रद्धालुको सुरक्षा र भिडलाई व्यवस्थापन गर्न नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्वयम्सेवक, नेपाल स्काउट र सुरक्षाकर्मी गरि १ सय भन्दा धेरै सँख्यामा परिचालित छन् । निर्बाचनका लागि भर्ना गरिएका निर्बाचन प्रहरी समेत परिचालित छन् । निर्बाचन प्रहरीलाई भिड तथा लाइन व्यवस्थापन गर्ने स्थलगत अभ्यासको मौका मिलेको छ । बिहान ११ बजेसम्ममा ६ हजार भन्दा धेरै श्रद्धालुले दर्शन गरेर फर्किसकेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पशुपती न्यौपानेले बिहान २ बजेदेखि दर्शनका लागि मन्दिर खुल्ला गरिएसङ्गै दर्शनार्थीको भिड लाग्न थालेको र दर्शनार्थीको भिडलाई व्यवस्थापन गर्न विभिन्न समिति गठन गरी परिचालन गरिएको बताए । भैरहवा आसपास क्षेत्र बाहेक लुम्बिनी, कपिलबस्तु, कक्रहवा, भारतको नौतनवा, गोरखपुर र केही दर्शनार्थी दिल्लीबाट समेत आएको भेटिएका छन् । मन्दिरमा श्रद्धालुले भगवानको मूर्तीमा जलार्पण र दर्शनमात्र गरेका छैनन, मन्दिर सञ्चालन सहयोगका लागि चन्दा दान समेत गरेका छन् ।

बिहान ११ बजेसम्म श्रद्धालुले गरेको चन्दा सहयोग तथा दानबाट २ लाख ५० हजार रुपैया भन्दा धेरै संकलन भएको समितिका पदाधिकारीले जनाएका छन् । मन्दिरको अन्य आम्दानी श्रोत नभएकाले दर्शनार्थीले चढाएको भेट तथा चन्दा सहयोग नै मुख्य रहेको अध्यक्षले न्यौपानेले जनाए ।

‘यो मन्दिर प्राचिन भएकाले पुरातत्व विभागमा सूचिकृत छ । जिर्णोद्वार तथा मरम्मत गर्न पुरातत्वको अनुमती लिनु पर्ने भएकाले त्यही अनुरुपको प्रकृयामा हामी छौं’ न्यौपानेले भने । न्यौपानेका अनुसार, शिव मन्दिर र नजिकै रहेको दुर्गा मन्दिर जिर्ण भएकाले बर्षाको वेला चुहिने गरेको छ । श्रद्धालुले चढाएको भेटी तथा संकलन भएको दानबाट मन्दिरको जिर्णोद्वार गरिने छ ।

महाशिवरात्रि पर्वका अवसरमा मन्दिर परिसरमा भिख तथा सहयोग माग्ने बिपन्न, अशक्तको सँख्यापनि उत्तिकै छ । मन्दिरमा आउने दर्शनार्थीलाई लक्षित गरेर विभिन्न खालका सामाग्रीको व्यापार गर्ने व्यापारीको भिडपनि बाक्लो छ । व्यापारमा मिठाइ, तैयारी पोशाक, भाँडाबर्तन, फुलप्रसाद, कृषि औजार, बयर फलको बाहुल्यता छ । महाशिवरात्रि पर्वका अवसरमा भैरहवा–लुम्बिनी सडक खण्डमा पर्ने प्रकटेश्वर मन्दिर, बुटवलको सिद्धबावा मन्दिर, पर्रोहास्थित बोलबम मन्दिर लगायत्का रुपन्देही जिल्लामा रहेका शिव मन्दिरहरुमा श्रद्धालुको भिड छ ।