शान्ति सुरक्षाको अवस्थाबारे स्थलगत जानकारी लिँदै सशस्त्रका एआइजी दाहाल


भैरहवा–आउदो फागुन २१ गते हुने आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहालले रुपन्देही जिल्लाको निर्वाचन सुरक्षाबारे जानकारी लिएका छन् ।
निर्बाचनमा शान्ति सुरक्षाको समग्र अवस्थालाई स्थलगत निरिक्षण गर्न महाकाली–मेची यात्राका क्रममा रहेका अतिरिक्त महानिरीक्षक दाहालले शनिबार भैरहवा आइ रुपन्देहीको शान्ति सुरक्षाको अवस्था वारे जानकारी लिएका हुन् । पाँच दिन अघि डोटीबाट स्थलगत निरिक्षण सुरु गरेका दाहालले यस भन्दा अघि कपिलबस्तु जिल्लाको शान्ति सुरक्षाको अवस्था वारे जानकारी लिएका थिए । उनी सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको सीमा सुरक्षा विभागका विभागीय प्रमुख समेत हुन् ।
उनले, भैरहवास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वार्टर रुपन्देहीमा रुपन्देही जिल्लाको निर्वाचनमा खटिने कमाण्डर तथा कार्यरत सशस्त्र प्रहरी अधिकृतहरुसँग भेटेर छलफल तथा परामर्श लिदै शान्ति सुरक्षा भरपर्दो र प्रभावकारी बनाउँन निर्देशन दिएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वार्टर रुपन्देहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नवराज बोहराले रुपन्देहीको समग्र सुरक्षा अवस्था, सीमा क्षेत्रको संवेदनशीलता, निर्वाचनमा सशस्त्र प्रहरी बलको तैनाथी योजना तथा सुरक्षा चुनौतीहरूको विषयमा योजना सहितको विस्तृत जानकारी गराएको पब्लिककुरासँग बताए ।
एआइजी दाहालले निर्वाचन सुरक्षाको अवस्था तथा चुनौतीहरूको बारेमा जानकारी गराउँदै निर्वाचनको समयमा आइपर्न सक्ने सम्भावित चुनौतीहरूको तत्काल समाधान, सुरक्षाकमीृको प्रभावकारी परिचालन, सीमा निगरानी र शान्ति सुरक्षा व्यवस्थापनका सम्बन्धमा प्रशिक्षण सहितको निर्देशन दिएका थिए । दाहालले जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, भन्सार तथा राजस्व कार्यालयका प्रमुखहरूसँग समेत भेटघाट गर्दै शान्ति सुरक्षा, निर्वाचन सुरक्षा, सीमा व्यवस्थापन, अवैध ओसार–पसार नियन्त्रण तथा राजस्व संरक्षणका विषयमा छलफल गरेका थिए ।
रुपन्देहीमा खटिएका सीमा सुरक्षा गुल्म तथा बि.ओ.पि. कमाण्डरहरुले आ–आफ्नो क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए ।








प्रतिकृया दिनुहोस्